नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन
थानकोट ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको गए राति निधन भएको छ ।
केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा रहेका ८४ वर्षीय पूर्वकृषि, सहकारी तथा गरिबी निवारण मन्त्री दाहाललाई हृदयाघात भएपछि उपचारका क्रममा गए राति वीर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
ओखलढुङ्गा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मिएका दाहाल राष्ट्रपुकार साप्ताहिकको सम्पादक थिए।
उनले नेपाली काँग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली काँग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हालेका थिए ।
उनका पार्थिव शरीर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका श्रीमती, दुई छोरा छन् ।
















