खैरो हेरोइनजस्तो पदार्थ र १२ लाखभन्दा बढी नगदसहित कालीमाटीबाट एक जना पक्राउ

Thankot Times

थानकोट ।

लागू औषध बिक्री-वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले काठमाडौं महानगरपालिका वडा नं. १३ कालीमाटीस्थित टंकेश्वरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ।

बृत कालीमाटीबाट खटिएको सादा पोशाकको टोलीले जिल्ला मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ स्थायी घर बताउने ३० वर्षीय सुरोज नगरकोटीको डेरा कोठामा रितपूर्वक खानतलासी गर्दा लागू औषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ०.३७ ग्राम, ट्रामाडोल ९ क्याप्सुल र नगद  १२ लाख ८१ हजार फेला पारेको प्रहरीले जनाएको छ।

खानतलासीका क्रममा लागू औषध राख्न प्रयोग गरिएको स्टिलको बट्टा ४ थान र एक थान आइफोन मोबाइलसमेत बरामद गरिएको छ। उक्त मोबाइल जाँच गर्दा लागू औषध कारोबारसँग सम्बन्धित विभिन्न व्यक्तिहरूसँग गरिएको कुराकानीका म्यासेजहरू भेटिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका नगरकोटीलाई आवश्यक अनुसन्धानका लागि बृत कालिमाटीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *