१२ औं एक्सेल्सियर कपः रिब्स छात्र यू-१६ फुटसल र बास्केटबल सिनियर गर्ल्सको फाइनलमा
थानकोट ।
आयोजक दी एक्सेल्सियर र काष्ठमण्डप विद्यालयका ३–३ टोली १२ औं एक्सेल्सियर कपको फाइनलमा पुगेका छन् ।
ब्वाइज फुटसलको यू–९ र यू–१३ तथा बास्केटबलको सिनियर गर्ल्समा एक्सेल्सियर फाइनल पुग्यो । काष्ठमण्डपको यू–९, यू–११ र यू–१३ उमेर समूहको ब्वाइज फुटसल टोलीले फाइनलमा स्थान बनाएको हो ।
यू–९ मा काष्ठमण्डपले कोहिनुरलाई ५–० गोलले पराजित गर्यो । विजेताका अनय रेग्मीले ह्याट्रिक, सूर्यांश सुवेदी र श्लोक रिमालले १–१ गोल थपे । फाइनलमा काष्ठमण्डपको भेट आयोजक एक्सेल्सियर (रातो) सँग हुनेछ । एक्सेल्सियर (रातो) ले आफ्नै निलो टोलीलाई १–० गोलले हराएको थियो ।
यू–११ मा काष्ठमण्डपले राई स्कुललाई २–१ गोलले हराएर जोन डेवीसँग उपाधि भिडन्त पक्का गर्यो । काष्ठमण्डपका अधिराज श्रेष्ठ र शिभांकराज भट्टराईले गोल गरे । अर्को सेमिफाइनलमा जोन डेवीले संस्कृति स्कुललाई टाइब्रेकरमा ४–३ गोलले पन्छाएको थियो ।
यू–१३ मा काष्ठमण्डपले रिब्सलाई टाइब्रेकरमा २–१ गोलले निराश पार्यो । उपाधिका लागि काष्ठमण्डपले एक्सेल्सियरसँग खेल्ने छ । एक्सेल्सियरले एलआरआईमाथि ३–१ को जित दर्ता गर्यो । एक्सेल्सियरका तीनै गोल लियोन गुरुङबाट सम्भव भयो । एलआरआईका सयेश क्षेत्रीले १ गोल फर्काए ।
यू–१६ मा रिब्स र न्यु एरा एकेडेमी फाइनलमा भिड्ने भएका छन् । रिब्सले बोधिसत्वलाई ३–१ गोलले हरायो । रिब्सका ब्लेस गुरुङले २ तथा आयुश केसीले १ गोल गरे । बोधिसत्वका योगराज खड्काले एक गोल गरे । न्यु एराले एक्सेल्सियरको चुनौती ३–० ले समाप्त पार्यो । न्यु एराका पेम्बा तामाङ र आयुश बरामले गोल गरे । एक गोल आत्मघाती थियो ।
त्यस्तै, बास्केटबलको सिनियर गर्ल्समा रिब्स र आयोजक एक्सेल्सियर बिहीबार फाइनलमा पुगेका छन् ।
रिब्सले ल्यान्डर्माक एकेडेमीलाई २१–९ ले पराजित गर्यो । रिब्सको जितमा निमिशा धामीले ८ स्कोर गरिन् । अकिना घिमिरेको ७ स्कोरमा एक्सेल्सियरले रेडियन्ट पब्लिकलाई १९–१५ ले हरायो ।
सिनियर ब्वाइजमा रेडियन्ट पब्लिकले संस्कृतिलाई ५५–३५ र राराहिलले पुष्पसदनलाई ५०–३५ ले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे । रेडियन्टका सुशनराज न्यौपानेले १८ र राराहिलका कृष्णले २० स्कोर गरे ।
एक्सेल्सियर कपमा पहिलोपटक समावेश गरिएको विधा गर्ल्स यू–१२ मा स्वर्णिमले राई स्कुललाई १०–५ तथा चाँदबागले एक्सेल्सियरलाई ९–२ ले पन्छाएर फाइनलमा स्थान पक्का गरे । स्वर्णिमकी पलिस्था हाडाले ३ तथा चाँदबागकी अग्रबिया महर्जनले ५ स्कोर जोडे ।
















