वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चन्द्रागिरिका एकसहित तीन जना पक्राउ
थानकोट ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरका शक्ति लामा, उदयपुरका विष्णु बुढाथोकी र कीर्तिपुरकी सुस्मिता महर्जन रहेका छन् ।
प्रहरीका अनुसार शक्तिले अजरवैजान र फिजी पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २६ लाख ६३ हजार ७ सय १० रुपैयाँ, विष्णुले ब्रुनाई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रुपैयाँ र सुस्मिताले अस्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडित १७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन् ।
सम्पर्कविहीन भएपछि पीडितहरूको उजुरीको आधारमा विष्णुलाई काठमाडौँ महानगरपालिका–९ बाट मंगलबार, सुस्मितालाई कीर्तिपुर नगरपालिका–१० बाट र शक्तिलाई काठमाडौँ महानगरपालिका–१५ डल्लुबाट बुधबार उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
विष्णु चन्द्रागिरि बस्दै आएका थिए ।














