नागढुंगा सुरुङमार्गको लागत सुरुमा अड्कलियो २२ अर्ब, निर्माण सम्पन्न हुन लाग्दा पुग्यो २९ अर्ब
थानकोट ।
‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
हालसम्म ९९ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको यस आयोजनाको आगामी जेठदेखि परीक्षण (ट्रायल) सुरु गरी साउनदेखि सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ ।
सोमबार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको टोलीले सुरुङमार्गको स्थलगत अनुगमन गरेको थियो । सो क्रममा आयोजनाका अधिकारीहरूले लागत वृद्धि, निर्माणमा भएको ढिलाइ र सुरक्षा प्रबन्धबारे विस्तृत जानकारी दिएका थिए ।
आयोजनाको सुरुवाती लागत २२ अर्ब रुपैयाँ अनुमान गरिएको भए पनि करिब २९ अर्ब पुग्ने देखिएको छ । आयोजना निर्देशक नेपालले निर्माण खर्चमा करिब १५ प्रतिशत वृद्धि भएको बताए ।
लागत बढ्नुको कारणबारे स्पष्ट पार्दै आयोजनाका प्रमुख परामर्शदाता रमेश प्रसाद कोइरालाले भने, ‘भौतिक संरचनामा भएका केही परिवर्तनले १२ प्रतिशत र अमेरिकी डलरको भाउमा भएको वृद्धिका कारण १८ प्रतिशत गरी कुल ३० प्रतिशतले लागत बढेको छ ।’ साथै पश्चिम पोर्टलतर्फको पहिरो रोकथामका लागि थप जग्गा अधिग्रहण गर्नु परेको छ ।
हालसम्म जग्गा अधिग्रहणमा मात्रै आयोजनाले ६ अर्ब रुपैयाँ खर्च गरिसकेको जनाएको छ ।










