सार्वजनिक जग्गा खाली गराउन चन्द्रागिरि नगरले जारी गर्यो १५ दिने सूचना, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया
थानकोट ।
सुकुम्बासी बस्ती र सार्वजनिक जग्गा खाली गराउने अभियानलाई सरकारले अझै जारी राखेको छ ।
यही क्रममा बुधबार चन्द्रागिरि नगरपालिकाले सूचना जारी कोही कसैले सार्वजनिक जग्गा उपभोग गर्दै आएको भए १५ दिन भित्र खाली गर्न सूचना जारी गरेको हो ।
चन्द्रागिरि नगर कार्यपालिकाको कार्यालय, बलम्बुबाट जारी सूचनाअनुसार नगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक, ऐलानी तथा पर्ति जग्गामा भइरहेको अतिक्रमण हटाउने निर्णय गरिएको हो।
सोही निर्णय कार्यान्वयनका लागि सूचना प्रकाशित गरिएको मितिले १५ दिनभित्र आफ्नो सामान सुरक्षित स्थानमा सारेर सम्बन्धित जग्गा खाली गर्न आग्रह गरिएको छ।
तोकिएको समयभित्र अतिक्रमित क्षेत्र खाली नगरे प्रचलित कानून र नेपाल सरकारको नीतिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अतिक्रमण हटाइने सूचनामा उल्लेख गरिएको छ।
अतिक्रमण हटाउने क्रममा हुने कुनै पनि क्षति वा असुविधाप्रति सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार रहने स्पष्ट पारिएको नगरप्रमुख घनश्याम गिरीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ । नगरपालिकाले सामाजीक सञ्जालमा जारी गरेको सूचनामा मानिसहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।











