एसइई-२०८२: नैकापस्थित ब्राइट फ्यूचरका १४७ परीक्षार्थीमध्ये ६ जनालाई ४ जीपीए
थानकोट ।
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० बाट सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सोमबार राति (बैशाख २८) प्रकाशित भएको छ ।
गतवर्ष चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो । सोमबार सार्वजनिक नतिजाअनुसार, २०८२ सालमा सञ्चालित एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् ।
नतिजाअनुसार, जीपीए ३.६ देखि ४ सम्म ४८ हजार ३९२ जना, जीपीए ३.२ देखि ३.६ सम्म ८० हजार ३७२ जना, जीपीए २.८० देखि ३.२० सम्म ९४ हजार २२२ विद्यार्थी ग्रेडेड भएका छन् ।
त्यस्तै, जीपीए २.४० देखि २.८० सम्म ५५ हजार ९७७ जना, जीपीए २.० देखि २.४ सम्म पाँच हजार १९० जना, जीपीए १.६ देखि २.० सम्म सातजना वर्गीकृत भएका छन् ।
परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो । गत वर्ष एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका थिए ।
नतिजा प्रकाशन भएसँगै सम्बन्धित विद्यालयहरूले आ-आफ्नो विद्यार्थीले प्राप्त गरेको नतिजा सार्वजनिक गर्ने क्रम जारी छ ।
प्राप्त विवरण अनुसार चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्यूचर माविका १४७ परीक्षार्थी मध्ये ६ जनाले ४.० जीपीएको कोशेढुङ्गा भेटेका छन् ।
विद्यालयका प्रधानाध्यापक दयाराम थापाका अनुसार अभिलासा कोइराला, क्रिष्टिना महरा, ओमेस महर्जन, सिद्धिका श्रेष्ठ, स्त्रोत्र अर्याल र सेल्भिया न्याैपानेले सो सफलता पाएका हुन् ।
थापाका अनुसार सो विद्यालयका ८४ जना विद्यार्थीले ३.६०-४.० सम्मको नतिजा आत्मसाथ गर्दा ५६ जना विद्यार्थीले ३.२० देखि ३.६० सम्मको ग्रेडिङ पाएका छन् ।
७ जना विद्यार्थीले २.८० देखी ३.२० जीपीए प्राप्त गरेका छन् ।
२०८१ को एसइईमा ब्राइट फ्यूचर माविका चार जना परीक्षार्थीले ४ जीपीए प्राप्त गरेका थिए ।
गत चैत्र महिनामा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षामा चन्द्रागिरि नगर क्षेत्रका विद्यालयबाट कुल २ हजार २ सय ७२ विद्यार्थी भएका थिए ।
एसइई-२०८१ः ब्राइट फ्यूचरका चार जना विद्यार्थीले प्राप्त गरे ४ जीपीए










