नेपाली कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
थानकोट ।
नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाले उपसभापति पुष्षा भुसालको संयोजकत्वमा गठित प्रदेश तथा स्थानीय तह निर्वाचनकेन्द्रित कांग्रेस निर्वाचन ब्युरोको सदस्यमा उक्त संख्यामा सदस्यहरू मनोनीत गरेका हुन् ।
पार्टीको देशव्यापी निर्वाचन डाटाबेस निर्माण गर्ने, निर्वाचन तयारीलाई तथ्यांक–आधारित र वैज्ञानिक बनाउने, ७५३ स्थानीय तह, ६,७४३ वडा र सात प्रदेशस्तरमा विस्तृत निर्वाचन योजना तयार गर्ने उद्देश्यसहित ब्युरो सदस्य मनोनयन गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।
ब्युरोले मतदाता र वस्तुस्थिति विश्लेषण गरी उमेदवार छनोट प्रणाली वैज्ञानिक र तथ्यपरक बनाउने, स्पष्ट र प्रभावकारी निर्वाचन रणनीति तय गर्ने जिम्मेवारी प्राप्त गरेको छ । ब्युरोमा शेरबहादुर देउवानिकट मानिने जीवन परियार, अब्दुल सत्तार, नानु बास्तोला, सन्दीप राना, वंशलाल तामाङ, प्रकाश तिवारी मनोनीत भएका छन् ।
यस्तै, महेश ढुंगेल, दीपक महतो, हरि पोखरेल, सुदर्शन आचार्य, रोहित पौडेल, डा. भूमिराज चापागाईं, सिद्धार्थ थापा, नवराज त्रिपाठी, तेजविनोद पौडेल, जगनाथ लामिछाने र मिलनराज बर्तौला रहेका छन् ।
निर्वाचन ब्युरोअन्तर्गत सातजना विज्ञको प्राविधिक समिति रहने मुख्यसचिव दुलालले उल्लेख गरेका छन् । ब्युरोले सात प्रदेश, ७५३ गाउँ–नगरपालिका र ६,७४३ वडाको विस्तृत निर्वाचन तथ्यांक तयार गर्ने जिम्मा प्राप्त गरेको छ । देशव्यापी निर्वाचन डाटाबेस निर्माण, वैज्ञानिक उमेदवार छनोट प्रणाली, मतदाता भावना आधारित घोषणापत्र निर्माण हुने पार्टीको अपेक्षित उपलब्धिहरू छन् ।










