थानकोट-रत्नपार्क रुटमा १ सय जना अट्ने यात्रुबस सञ्चालन गर्न व्यवसायीको सुझाव

Thankot Times

थानकोट ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले विद्युतीय सवारी साधनको मापदण्ड, कार्यविधि र व्यवस्थापन सम्बन्धी नीति बनाउन नसकेको बताएका छन्।
प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले विद्युतीय सवारीको संख्या तिब्र रूपमा बढे पनि त्यसको व्यवस्थापनको नीति बनाउन सरकार असफल भएको बताएका हुन्।
ध्यक्ष सिटौलाले नेपालमा करिव ७३ प्रतिशत विद्युतीय सवारी सञ्चालनमा रहेको बताए। तर त्यसको सञ्चालन, मापदण्ड र व्यवस्थापनका लागि सरकारले के बनायो ? उनको प्रश्न छ। उनले सार्वजनिक यातायात व्यवस्थापनका लागि आवश्यक तथ्यांकसमेत सरकारसँग नभएको दाबी गरे।
रुट परमिट र सवारी दर्ता सरकारकै जिम्मेवारी भएपनि यातायात क्षेत्रको एकीकृत डाटा सरकारसँग नभएको उनको भनाइ छ। उनले महासंघले जीपीएस प्रणाली, क्यासलेस भुक्तानी र अनलाइन टिकटिङ लागू गर्न माग गर्दै आए पनि सरकारले त्यसका लागि पनि आवश्यक कार्यविधि बनाउन नसकेको बताए।
अध्यक्ष सिटौलाले सडकको क्षमताअनुसार सवारी सञ्चालन गर्नुपर्ने बताए। अहिले जथाभावी सवारी सञ्चालन भएकोले शहर अव्यवस्थित बनेको उनको भनाइ छ। विकसित मुलुकमा सार्वजनिक यातायातका लागि छुट्टै लेनको व्यवस्था हुने गरेको उल्लेख गर्दै उनले नेपालमा त्यस्तो पूर्वाधार नहुँदा यातायात प्रणाली प्रभावकारी बन्न नसकेको बताए।
उनले चालक अभावका कारण लामो दुरीका सवारीमा डबल चालकको व्यवस्था गर्न सक्ने अवस्था नरहेको बताए। उनले पार्किङ व्यवस्थापनलाई राज्यले गम्भिरतापुर्वक लिनुपर्नेमा जोड दिए। मालवाहक सवारीका लागि आवश्यक पार्किङ स्थलको अभाव रहेको उनको भनाइ छ।
उनले भारतीय सवारीलाई नेपाल प्रवेशमा कडाई गर्नुपर्ने बताए। भारतसँगको खुला सीमाका कारण भारतीय नम्बर प्लेटका सवारी नेपालमा सहज रूपमा सञ्चालन भइरहेका उनको भनाइ छ। तर नेपाली सवारी भारत प्रवेश गर्दा भारतीय दुतावासबाट स्वीकृत लिनुपर्ने जटिल प्रक्रिया र आर्थिक धरौटीको व्यवस्था रहेको उनले बताए।
उनले लगानीमैत्री, यात्रुमैत्री र व्यवस्थित यातायात नीति ल्याउन सरकारसँग आग्रह गरे। उनले चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा पनि सुधार आवश्यक रहेको बताए। सानो सवारी साधन चलाउन सक्ने व्यक्तिलाई ठूलो सवारी चलाउनका लागि अनावश्यक रूपमा वर्षौं कुर्नुपर्ने व्यवस्थाले समस्या सिर्जना गरेको उनको भनाइ छ।
उनले काठमाडौं उपत्यकामा साना–ठूला सबै प्रकारका सवारी एउटै रुटमा सञ्चालन भइरहेको उल्लेख गर्दै बढी यात्रु क्षमता भएका बस सञ्चालनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

रत्नपार्कबाट बुढानीलकण्ठ, जोरपाटी, लगनखेल, थानकोट वा भक्तपुर जाने रुटमा १०० जना अट्ने बस चलाउन सकिने उनको भनाइ छ। तर त्यसको सट्टा साना सवारीको संख्या बढाइएको उनले बताए।

कृतिम बुद्धिमत्ता प्रयोग गरि बनाइएको कृतिम तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ