महिलाहरूका लागि लक्षित गर्दै साउन १ बाट नागढुंगा-एयरपोर्ट रुटमा गुड्दै ‘ब्लू बस’

Thankot Times

थानकोट ।

महिलाका लागि सुरक्षित सार्वजनिक यातायात सुनिश्चित गर्ने लक्ष्यसहित सरकारले उपत्यकामा ब्लू बस सञ्चालनको घोषणा गरेको छ। सरकारको घोषणाअनुसार अहिले एउटा विद्युतीय सवारीसाधन (ईभी) गाडी ब्लू बसको रुपमा सञ्चालन गर्दा वार्षिक कति खर्च लाग्छ भन्ने अनुमानित हिसाबसहितको मोडालिटी तयार पारिँदै छ।

यहि श्रावण १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ८ वटा साझाका विद्युतीय बस सञ्चालन हुनेछ। बस बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गरिनेछ। पछिल्लो चरणमा लगनखेल बुढानीलकण्ठ रुटमा २ वटा बस सञ्चालन गरिने छ। थानकोट नागढुगां–एयरपोर्ट हुँदै २ वटा बस सञ्चालन गरिने छ भने चक्रपथ (रिङरोड) ४ वटा बस (२ वटा क्लकवाइज र २ वटा एन्टिक्लोकवाइज) दिशामा सञ्चालन गर्ने योजना रहेको छ।

यो सेवा मुख्य रूपमा महिलाहरूका लागि लक्षित र निःशुल्क हुनेछ। ब्लु बस खरिद तथा सञ्चालनका लागि हरेक वर्ष आवश्यक पर्ने बजेटको व्यवस्थापन सरकारले गर्ने, प्रत्येक आर्थिक वर्षको श्रावण मसान्तभित्र उक्त बजेट साझा यातायातलाई उपलब्ध गराउने र विद्युतीय बसहरूका लागि चार्जिङ स्टेशन र पार्किङ स्थल उपलब्ध गराउने, साथै अन्य आवश्यक पूर्वाधार निर्माणमा साझा यातायातलाई सहयोग गर्ने दायित्व तथा जिम्मेवारी सरकारको हुनेछ। ८ बस सञ्चालनलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार अनुगमन र सहजीकरण सरकारले गर्नेछ।

बस खरिद गर्ने रुट व्यवस्थापन गर्ने र बस सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने, जनशक्ति व्यवस्थापन तथा परिचालन गर्ने र बसको नियमित तथा आकस्मिक मर्मत सम्भार गर्ने दायित्व तथा जिम्मेवारी साझा यातायातको हुने विभागले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ