संघीय निजामती विधेयकको त्रासः बाछिटा चन्द्रागिरिमा पनि देखिन थाल्यो, केही कर्मचारीले दिए राजीनामा
थानकोट ।
नेपाल सरकारका स्थायी कर्मचारीबीच यतिबेला असामान्य प्रवृत्ति देखिएको छ।
सेवा अवधि बाँकी हुँदाहुँदै धमाधम राजीनामा दिने क्रम बढेपछि प्रशासनिक संयन्त्रमै नयाँ बहस सुरु भएको छ।
राष्ट्रिय किताबखाना (निजामती) को तथ्यांकअनुसार असार १ देखि १५ गतेसम्म मात्र ८२ जना कर्मचारीले स्वेच्छिक राजीनामा दिएका छन्। यो संख्या विगतका वर्षहरूको तुलनामा उल्लेख्य रूपमा बढी हो।
विश्लेषकहरूका अनुसार यसका पछाडि एउटै कारण छैन। सरकारले ल्याउन लागेको संघीय निजामती सेवा विधेयक, २०८३ को मस्यौदाले कर्मचारीमा भविष्यप्रतिको अन्योल बढाएको छ।
३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश, पेन्सन गणनामा हुने सम्भावित कटौती तथा सेवा–सुविधा घट्ने आशंकाले धेरै कर्मचारी सुरक्षित विकल्प रोज्न थालेका छन्।
यसबाहेक पछिल्लो समय सार्वजनिक निकायमा बढ्दो जवाफदेहिता र कानुनी जोखिम पनि कर्मचारीको चिन्ताको विषय बनेको छ। विशेषगरी काठमाडौं महानगरपालिकामा बालेन्द्र (बालेन) शाह नेतृत्वले कर्मचारी अनुशासन, कार्यसम्पादन र आर्थिक पारदर्शितामा कडाइ गरेपछि सरकारी संयन्त्रमा पुरानै कार्यशैली अब सहज नहुने सन्देश गएको विश्लेषण गरिन्छ। यद्यपि बालेन नेतृत्वको महानगर र संघीय निजामती प्रशासन फरक संरचना भए पनि, सार्वजनिक क्षेत्रमा बढ्दो उत्तरदायित्व र नतिजामुखी कार्यसंस्कृतिको बहसलाई यसले थप बल दिएको देखिन्छ।
अर्कोतर्फ, राजनीतिक हस्तक्षेप, मन्त्रीका सचिवालयबाट हुने दबाब, निर्णयका कारण भविष्यमा भ्रष्टाचार मुद्दामा तानिने डर तथा निजी क्षेत्र र वैदेशिक रोजगारीमा आकर्षक अवसर उपलब्ध हुनु पनि अनुभवी कर्मचारी बाहिरिनुको अर्को कारण मानिएको छ।
प्रशासनविद्हरूका अनुसार दक्ष र अनुभवी कर्मचारीको यस्तो पलायनले मन्त्रालयहरूको संस्थागत स्मृति कमजोर बनाउने, नीति कार्यान्वयनमा ढिलाइ गराउने र सेवा प्रवाहको गुणस्तरमा असर पार्ने जोखिम छ। त्यसैले सरकारले विधेयकबारे स्पष्टता, कर्मचारीको मनोबल उच्च बनाउने नीति तथा राजनीतिक हस्तक्षेप न्यूनीकरणतर्फ तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ।
चन्द्रागिरि नगरपालिकामा कार्यरत ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर पुगेका कर्मचारीले राजीनामा दिने क्रम बढेको छ ।
स्रोतका अनुसार असार महिनामा हालसम्म २ जना कर्मचारीले राजीनामा दिएका छन् ।
उसो त चन्द्रागिरि नगरमा कार्यरत ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर पुगेका कर्मचारीको संख्या करिब १ दर्जन बढी रहेको बुझिएको छ ।









