संसद् मा सांसद विष्टले उठाए चन्द्रागिरिमा भएका खानेपानी मुहान र रोप-वे असरल्ल भएको विषय
थानकोट ।
प्रतिनिधि सभाका सांसदहरूले खानेपानी व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण, सर्वसुलभ विशेषज्ञ स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, नदी कटान तथा डुबान नियन्त्रणलगायत समसामियक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सभाको बिहीबारको बैठकको विशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रदीप विष्टले काठमाडौँ क्षेत्र नं १० का कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरि नगरपालिकामा पिउने पानीको अभाव भइरहेको जनाउँदै सो क्षेत्रका खानेपानी मुहान संरक्षण गरी न्यायोचित रुपमा पानी वितरण गर्न सरकारको ध्यानाकर्षण गराए। उनले संसद् मा चन्द्रागिरि नगरपालिका क्षेत्रका विभिन्न स्थानमा काठमाडाैं-हेटाैंडा रोप-वेको विषय समेत उठान गरेका छन् । उनले रोप वेका संरचनाले जनजीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको बताउँदै रोप वेका संरचना व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराए ।
यस्तै , रास्वपाकै राजुनाथ पाण्डेले सडकको बीच भागमा रहेका बिजुलीको खम्बा नहटाउँदा दुर्घटनाको जोखिम बढेको बताए।
नेपाली कांग्रेसकी सांसद सुशीला ढकाल आचार्यले पछिल्लो तीन दशकमा मुलुकमा ‘केही भएन भन्ने’ र वर्तमान सरकारको एक सय दिनमा मुलुक कायपलट भयो भन्ने दुवै भाष्य गलत भएको बताइन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का क्षितिज थेवेले निर्वाचनमा प्राप्त जनादेशअनुसार जनअपेक्षा पूरा गर्न सरकारका प्रयास केन्द्रित हुनुपर्ने बताए।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका जिल्लामा सडक दुर्घटना बढ्दै गइरहेकामा चिन्ता व्यक्त गर्दै सुरक्षित सडक निर्माणमा पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिए।
श्रम संस्कृति पार्टीका ध्रुवराज राईले पहाडी क्षेत्रमा बाँदरसम्बन्धी समस्याबाट किसान विस्थापित हुनेक्रम बढिरहेको जनाउँदै बाँदर, बँदेलजस्ता जङ्गली जनावर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए।
त्यसअघि बैठकमा समय लिएर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेको भन्ने समाचारका सम्बन्धमा सरकारको जवाफ माग गरेका थिए।









