चन्द्रागिरिसहित काठमाडौंका विभिन्न पानीका स्रोतमा हानिकारक जीवाणु कोलिफर्म पुष्टि

थानकोट ।

काठमाडौंका पानीका स्रोतमा गरिएको परीक्षणमा हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ । 

काठमाडौंबासीले प्रयोग गर्ने खानेपानीमा कोलिफर्म र ई.कोलाई जस्ता जीवाणु फेला परेका हुन् । 

जनस्वास्थ्य कार्यालय काठमाडौंले हालै गरेको परीक्षणमा सबै खानेपानीका नमुनामा हानिकारक जीवाणु कोलिफर्म भेटिएको हो ।

मनसुन सक्रिय भएसँगै काठमाडौंका अधिकांश पानीका स्रोतमा बाढी पसेको छ । 

‘हामीले चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, गोकर्णेश्वर नगरपालिका र काठमाडौं महानगरपालिकाबाट खानेपानीका नमुना संकलन गरेका थियौं,’ काठमाडौं जनस्वास्थ्य कार्यालयका अधिकृत सरोज रोकाले भने, ‘सार्वजनिक धारासहित घरघरबाट संकलित सबै खानेपानीका नमुनामा स्वास्थ्यका लागि हानिकारक सूक्ष्मजीव रहेको परीक्षणले देखाएको छ ।’ 

वर्षातको समयमा देशैभरका अधिकांश खानेपानीका स्रोत बाढी पसेर दूषित हुने गर्छन् ।

नेपाल बहुसूचक सर्वेक्षण २०२४–२५ ले पनि देशभरका घरधुरीबाट संकलित ६० प्रतिशतभन्दा बढी खानेपानीका नमुनामा ई. कोलाईसहितका हानिकारक सूक्ष्मजीव भेटिएको देखाएको थियो ।

‘हामीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी उपभोक्ता समिति लगायत सरोकारवालासँग बैठक गरी परीक्षण प्रतिवेदनबारे जानकारी गराएका छौं,’ रोकाले भने, ‘घरघरमा पानी वितरण गर्नुअघि क्लोरिन प्रयोग गर्न, नियमित रूपमा पानी परीक्षण गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छौं ।’

फिकल कोलिफर्म र ई. कोलाई तातो रगत भएका जनावर तथा मानिसको आन्द्रा र दिसामा पाइने सूक्ष्म जीवाणु हुन् । खानेपानीमा यस्ता सूक्ष्मजीव भेटिनु भनेको खानेपानीमा ढल वा मानिसको दिसा मिसिएको छ भन्ने रहेको चिकित्सकहरू बताउँछन् ।

ठूलो लगानीका बाबजुद पनि खानेपानीको गुणस्तरमा उल्लेखनीय सुधार आउन नसक्नु चिन्ताको विषय भएको विज्ञहरूको भनाइ छ । कमजोर पूर्वाधार, दशकौं पुराना जीर्ण खानेपानीका पाइपलाइन, खानेपानीका पाइप ढलका पाइपसँगै बिछ्याइनु तथा पानीका स्रोतको पर्याप्त संरक्षण नहुनु पानी दूषित हुने प्रमुख कारण रहेको उनीहरूको भनाइ छ । ‘सुरक्षित पानी उपलब्ध गराउनु राज्यको आधारभूत दायित्व हो तर हामीले अहिलेसम्म पनि शुद्ध पानी पाएका छैनौं,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी भन्छन्, ‘दूषित पानीका कारण झाडापखाला मात्रै होइन थुप्रै पानीजन्य रोगको प्रकोप निम्तिन सक्छ । सर्वसाधारणले पनि समयमै सावधानी अपनाउनुपर्छ । पानी उमालेर मात्रै पिउनुपर्छ ।’

विगतका वर्षहरूमा गरिएको परीक्षणले पनि सार्वजनिक धारा, जारको पानी, सरकारी निकायले वितरण गरेको पानी, ट्यांकरको पानी, ट्युबवेल, इनार तथा मेलम्चीको पानीमा समेत स्वास्थ्यका लागि हानिकारक सूक्ष्मजीव भेटिएको देखाएको थियो ।

चिकित्सकहरूका अनुसार दूषित पानी पिउँदा झाडापखाला र हैजा मात्र होइन, टाइफाइड, हेपाटाइटिस ए र ई लगायतका पानीजन्य रोगको जोखिम पनि बढ्छ । पछिल्लो समय काठमाडौंका अस्पतालहरूमा पखालाका गम्भीर बिरामी आउने क्रम बढेको छ । केही बिरामी बेहोस भएपछि अस्पताल ल्याइएको छ भने केहीमा र्‍यापिड डायग्नोस्टिक परीक्षणबाट हैजा संक्रमण पनि पुष्टि भएको छ ।

बाढीका कारण अधिकांश पानीका स्रोत दूषित भइसकेको छ । त्यसले गर्दा आगामी दिनमा झाडा पखालाका बिरामी अझ बढ्न सक्ने जनस्वास्थ्य विज्ञ बताउँछन् । ‘धेरैजसो पखालाका बिरामी गम्भीर नभएसम्म अस्पताल आउँदैनन्,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले भने, ‘धेरैले सुरुमा निजी फार्मेसीबाट औषधि लिन्छन् वा क्लिनिकमा उपचार गर्छन् । प्राय: घरमा र निजी क्लिनिकमा उपचार गर्दा निको नभएपछि मात्र सरकारी अस्पताल आउने चलन छ ।’ 

सुरक्षित खानेपानीको व्यवस्था गर्न र व्यवहार परिवर्तनसम्बन्धी जनचेतना अभियान सञ्चालन गर्न सम्बन्धित निकाय उदासीन रहेको विज्ञको भनाइ छ । 

गत वर्ष बारा, पर्सा र सप्तरीका विभिन्न स्थानीय तहमा फैलिएको हैजाका कारण चार जनाको मृत्यु भएको थियो भने सयौं संक्रमित भएका थिए । वीरगन्जका स्वास्थ्य संस्थाहरू गम्भीर बिरामीले भरिएका थिए भने संक्रमण नियन्त्रणका सबै प्रयास असफल भएपछि जोखिममा रहेका समुदायलाई हैजाविरुद्ध खोप लगाइएको थियो ।

हैजा अत्यन्त संक्रामक रोग हो, जसले तीव्र पखाला र बान्ता गराउँछ । यसबाट शरीरमा पानीको मात्रा तीव्र रूपमा घट्ने भएकाले उपचार नपाए केही घण्टामै मृत्यु हुन सक्छ । 

चिकित्सकहरूका अनुसार पानीजन्य रोगबाट बच्न जनचेतना अभियान सञ्चालन गर्नु र सबैको पहुँचमा सुरक्षित खानेपानी सुनिश्चित गर्नु अत्यावश्यक छ । उनीहरूका अनुसार नियमित निगरानी, सुरक्षित खानेपानी, सरसफाइ, सामाजिक परिचालन तथा समयमै उपचारलाई एकसाथ अघि बढाए मात्र यस्ता रोगको प्रकोप रोक्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *