तिव्र गतिमा रहेको मोटरसाइकलले सतुङ्गल ओरालोमा पैदल यात्रीलाई ठक्कर दिएपछि….
थानकोट ।
कलंकी-नागढुङ्गा सडक खण्डको सतुङ्गलमा बुधबार बिहान एउटा मोटरसाइकलले सडक पार गर्दै गरेका व्यक्तिलाई ठक्कर दिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार नैकापबाट सतुङ्गलतर्फ आउँदै गरेको मोटरसाइकलले सडक पार गर्दै गरेका युवालाई ठक्कर दिएपछि दुर्घटना भएको हो । उक्त मोटरसाइकल तिव्र गतिमा रहेको एकजना प्रत्यक्षदर्सीले थानकोट टाइम्ससँग भने ।
प्रहरी प्रभाग बलम्बुका अनुसार बा प्र.०२ ०६३ प २८९० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सतुङ्गल बस्ने खोटाङका २४ वर्षीय सुमन नेपाली घाइते भएका छन् ।
उनको स्थानीय अस्पतालमा प्रारम्भिक उपचार भइरहेको छ ।
चिकित्सकले उनको चेकजाँच गरिरहेकोले घाइतेको अवस्थाका बारेमा थप विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।









