आजदेखि बागमतीमा मन्त्रालयको संख्या ८, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रीमा श्रेष्ठ

Thankot Times

थानकोट ।

वाग्मती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा झार्ने निर्णय आजदेखि कार्यान्वयन गरेको छ ।

मन्त्रालय पुनर्संरचनासँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीहरुको नयाँ कार्यविभाजन सिफारिस गरेपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रिपरिषद्को कार्यविभाजन स्वीकृत गरेका छन् ।

नयाँ संरचनाअनुसार प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय कायम भएका छन् । सरकारमा रहेका १४ मन्त्रीमध्ये ८ जनाले मन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन् भने बाँकी ६ जना मन्त्रीलाई हालका लागि विनाविभागीय राख्दै अतिरिक्त जिम्मेवारी तोकिने बताइएको छ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आफैँसँग राखेका छन् ।

कार्यविभाजनअनुसार मधुसूदन पौडेललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने शिवराज अधिकारीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नेतृत्व गर्नेछन् ।

त्यसैगरी कञ्चनचन्द्र वादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यस्तै, कृष्णकुमार तामाङले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्, भने बिन्दु श्रेष्ठ उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको मन्त्री बनेकी छन् ।

मन्त्रालयहरूको संख्या घटाइएपछि हालका लागि किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेललाई विनाविभागीय मन्त्रीका रूपमा राखिएको छ । उनीहरूले मुख्यमन्त्रीको मातहतमा रही तोकिएका अतिरिक्त जिम्मेवारी सम्हाल्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *