काठमाडौंमा एकजना महिलाद्वारा आत्मदाह प्रयास, कीर्तिपुर अस्पतालमा उपचार हुँदै
थानकोट ।
काठमाडौंमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।
काठमाडौं महानगरपालिका-६, बौद्ध गेटनजिक २७ वर्षीया सालु गुरुङले आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सोमबार (साउन ४) दिउँसो करिब २ः५० बजे आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई उनले आत्मदाहको प्रयास गरेकी हुन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ की गुरुङ काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८, माकलबारीमा बस्दै आएकी थिइन् ।
सोही ठाउँमा गुरुङ दम्पतीले खाजाघर सञ्चालन गर्दै आएका थिए ।
श्रीमान्सँगको विवादपछि उनले खाजाघरपछाडिको पार्किङमा आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको काठमाडौं परिसरका सूचना अधिकारी एवं एसपी पवन भट्टराईले जानकारी दिए ।
सालुका श्रीमान्ले उनको शरीरको आगो निभाएर उपचारका निम्ति साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पुर्याएका थिए । अनुहार, छाती र दुवै हातमा गरी उनको करिब ५० प्रतिशत शरीर जलेको प्रहरीले जनाएको छ ।
त्यहाँ सामान्य उपचारपश्चात् सोमबारै बेलुका ५ः४० बजेलाई उनलाई कीर्तिपुर अस्पताल ‘रिफर’ गरिएको एसपी भट्टराईले जानकारी दिए ।










