नेकपाबाट सुदूरपश्चिममा खगराज भट्ट र कर्णालीमा मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने
थानकोट ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व गर्ने भएको छ ।
शनिबार एमाले-नेकपाबीच कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएकाे हाे ।
साेही सहमतिअनुसार सुदूरपश्चिममा नेकपा संसदीय दलका नेता खगराज भट्ट र कर्णाली प्रदेशमा मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।
उनीहरूको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया संवैधानिक व्यवस्थाअनुसार अघि बढ्ने बताइएको छ ।
हाल सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहले गरिरहेका छन् ।
दुई दलबीच सत्ता साझेदारी, मन्त्रालयको भागबन्डा र साझा कार्यक्रमका विषयमा सहमति जुटे सँगै अब सुदूरपश्चिम र कर्णालीको सरकार पनि नयाँ बन्ने भएको हो ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार मात्रै पदबाट राजीनामा दिएका हुन् ।
शनिबार बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।
मुख्यमन्त्री कँडेलविरुद्ध नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।










