चन्द्रागिरिस्थित एक पराठा उद्योग र पानी उद्योगको उत्पादनप्रति उपभोक्ताको उजुरी परेपछि….
थानकोट ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको गुनासोका आधारमा काठमाडौंमा आकस्मिक बजार अनुगमन गरेको छ।
विभागअन्तर्गतको कार्यालयले ‘र्यापिड रेस्पोन्स मोडालिटी’ अन्तर्गत गरिएको अनुगमनका क्रममा दुई खाद्य व्यवसायमा विभिन्न कैफियत फेला पारेको हो।
विभागले २०८३ साउन २१ गते गरेको अनुगमनमा चन्द्रागिरि नगरपालिका नैकापस्थित एक पराठा उद्योगको उत्पादनमा लेबलसम्बन्धी समस्या देखिएको जनाएको छ। सो उत्पादनको लेबलमा सामग्रीसम्बन्धी स्पष्टता नभएको भन्ने गुनासोका आधारमा गरिएको अनुगमनमा दुई प्रकारका पराठा उत्पादन भइरहेको र तिनमा फरक–फरक कच्चा पदार्थ प्रयोग गरिएको पाइएको थियो।
उद्योगले उत्पादनको लेबलमा प्रयोग गरिएका कच्चा पदार्थबारे स्पष्ट रूपमा उल्लेख गरेको भए पनि सरसफाइ सामान्य रहेको र कीट नियन्त्रणको व्यवस्था अपर्याप्त रहेको अनुगमन टोलीले जनाएको छ। उद्योगलाई खाद्य स्वच्छता कायम राख्न, कीट नियन्त्रणको उचित व्यवस्था गर्न निर्देशन दिइएको छ। थप अनुसन्धानका लागि दुई थान पराठाको नमुनासमेत संकलन गरिएको छ।
त्यस्तै, चन्द्रागिरि नगरपालिका बलम्बुस्थित एक पानी प्रशोधन उद्योगमा पनि अनुगमन गरिएको छ।
बोतलको पानीभित्र फोहोर देखिएको भन्ने गुनासोपछि गरिएको अनुगमनका क्रममा भण्डारणमा रहेका केही बोतलको बाहिरी भागमा पानी तथा बाह्य पदार्थसम्बन्धी अवस्था जाँच गरिएको विभागले जनाएको छ।
अनुगमनका क्रममा उद्योगमा प्रयोग भएका केही जारमा एम्बोसिङ तथा स्क्रिन प्रिन्ट गर्ने प्रक्रिया सुरु गरिए पनि सबै जारमा सो व्यवस्था नभएको पाइएको थियो। साथै, उद्योगमा एक लिटरका बोतल उत्पादन गर्ने ‘ब्लोइङ मेसिन’ समेत रहेको अनुगमन टोलीले उल्लेख गरेको छ।
उद्योगलाई प्रशोधित पिउने पानी उत्पादन मापदण्ड, २०७४ बमोजिम कार्य गर्न निर्देशन दिइएको छ।
जार तथा बोतलमा एम्बोसिङ तथा स्क्रिन प्रिन्ट गर्ने प्रक्रियालाई थप व्यवस्थित बनाउनसमेत निर्देशन दिइएको विभागले जनाएको छ। थप अनुसन्धानका लागि बोतलको पानीको नमुना संकलन गरिएको छ।
विभागका अनुसार उक्त अनुगमनमा कुल दुई वटा खाद्य व्यवसाय निरीक्षण गरिएको थियो।
अनुगमनसम्बन्धी विवरणमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माको हस्ताक्षर रहेको छ।










