क्रिकेटर सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको नयाँ कप्तान नियुक्त गरेको छ ।

अगष्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपबाट लागू हुने गरी सन्दीपलाई कप्तानको जिम्मेवारी दिइएको हो ।

क्यानले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एकदिवसीय टोलीको कप्तान बनाएको हो । सन्दीप सन् २०२२ पछि पुनः नेपाली टोलीको कप्तानका रूपमा फर्किएका हुन् ।

सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोप लगाएपछि क्यानले उनलाई कप्तानबाट हटाएको थियो । त्यसपछि रोहितले नेपाली टोलीको कप्तानी गर्दै आएका थिए ।

फेब्रुअरीमा भारतमा भएको ट्वान्टी–२० विश्वकपपछि रोहितको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई नेपालको ट्वान्टी–२० कप्तान बनाइएको थियो । दीपेन्द्र ट्वान्टी–२० को कप्तानमा यथावत् रहने छन् भने सन्दीपले एकदिवसीयमा नेपालको नेतृत्व गर्नेछन् ।

सन्दीपको नेतृत्वमा क्यानले १४ सदस्यीय टोली पनि घोषणा गरेको छ । जसमा लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *