नेपाली बजारमा अण्डाको मूल्य बढ्यो

थानकोट ।

अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् ।

नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागु हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो ।

संघका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको संक्रमण हटेको र धेरै कुखुरा मरेसँगै उत्पादन घटेकाले बजारको माग निकै बढेको छ । माग बढेसँगै अण्डाको मूल्य बढेको हो ।

फार्महरुले दिएको रेटका आधारमा समर्थन मूल्य जारी गरिएको उनले बताए । मूल्य बढ्दै गर्दा पनि किसानले लागत मूल्य पाउन नसकेको उनले बताए ।

अण्डाको लागत मूल्य प्रतिगोटा रु १९.१२ पर्न आउँछ । यसलाई हिसाब गर्दा प्रतिक्रेट रु ५७३.६ हुन आउँछ ।

बर्डफ्लुका कारण किसानले ठूलो क्षति व्यहोर्नु परेको छ । लागत मूल्य पाउन नसकेपछि विगत केही वर्षदेखि किसान यस पेसाबाट पलायन हुन थालेका छन् ।

पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लग्नुलगायत कारणले किसान बैंकको ऋणको भरमा पर्दै आएको व्यवसायी बताउँछन् ।

पछिल्लो समय बर्डफ्लुका कारण केही किसानको कुखुरा मरेका थिए । कुखुरा हुनेहरुले अण्डाको मूल्य नपाउँदा ठूलो नोक्सानी व्यहोर्नु परेको पोखरेलले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *