एआईको दुरुपयोग गरी भ्रामक सामग्री उत्पादन नगर्न साइबर ब्युरोको आग्रह

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले कृत्रिम बौद्धिकता (एआई) तथा अन्य प्रविधिको गलत प्रयोगबाट तयार गरिएका सामग्री सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा प्रसारण गर्ने क्रम बढेको भन्दै सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरो, भोटाहिटीले साउन २७ गते जारी गरेको सार्वजनिक सचेतनामार्फत प्रविधिको दुरुपयोगबाट व्यक्तिको तस्बिर तथा भिडियो कृत्रिम रूपमा तयार पार्ने, तथ्यहीन सूचना फैलाउने र कसैको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले श्रव्य दृश्य सामग्री तथा अभिव्यक्ति सार्वजनिक गर्ने गतिविधि देखिएको जनाएको हो।

ब्युरोका अनुसार यस्ता गतिविधिले व्यक्तिको चरित्रमा क्षति पुर्‍याउनुका साथै समाजमा अनावश्यक भय र भ्रमको अवस्था सिर्जना गर्न सक्छ। नैतिक रूपमा अनुचित यस्ता कार्य प्रचलित कानुनअनुसार दण्डनीयसमेत हुने भएकाले त्यस्ता गतिविधिमा संलग्न व्यक्ति वा संस्थामाथि कानुनी कारबाही हुन सक्ने चेतावनी प्रहरीले दिएको छ।

सामाजिक सञ्जाल वा अन्य अनलाइन माध्यममा प्रसारित सामग्रीलाई तत्काल सत्य मानेर प्रतिक्रिया नदिन पनि ब्युरोले आग्रह गरेको छ। कुनै सूचना प्राप्त भएमा त्यसको विश्वसनीयता परीक्षण गरी आधिकारिक तथा भरपर्दा स्रोतबाट मात्र यथार्थ जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

साइबर ब्युरोले प्रविधिको प्रयोग गर्दा जिम्मेवार बन्न र एआईमार्फत सिर्जना वा सम्पादन गरिएका सामग्रीको गलत उद्देश्यले उत्पादन तथा प्रसारण नगर्नसमेत सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ