काठमाडौं उपत्यकाका १ हजार बिक्री केन्द्रमा आजदेखि चिनी प्रतिकेजी १ सय १० रुपियाँमा बेच्ने व्यवस्था
थानकोट ।
काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपियाँमा चिनी बेचिने भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा चिनीको अभाव नरहेको स्पष्ट पारेको हो ।
विभागका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकको सहमति अनुसार उपत्यकाका विभिन्न बिक्री केन्द्रबाट चिनी सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ ।
चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनी अभाव हुन थालेको र मूल्य बढाइएको भन्ने गुनासो सार्वजनिक भएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत लिएर उपत्यकाका खुद्रा तथा थोक व्यापारीलाई प्रतिकेजी ११० रुपियाँ चिनी बिक्रीको व्यवस्था गरेको हो ।
मन्त्रालयका अनुसार उपत्यकाका नेपाल खुद्रा व्यापार सङ्घ, नेपाल खाद्य किराना तथा थोक सङ्घ, भाटभटेनी सुपरमार्केट, बिगमार्ट, सेल्सबेरीलगायतबाट चिनी प्रतिकेजी ११० रुपियाँमा पाउने व्यवस्था गरिएको छ । मन्त्रालयका आपूर्ति महाशाखा प्रमुख जितेन्द्र बस्नेतले उपत्यकामा आज बिहीबारदेखि नै चिनी सहज हुने र प्रतिकेजी ११० रुपियाँमा पाइने जानकारी दिए ।














