नागढुंगा ओरालोमा सडक भासिएको २२ दिन पूरा, मर्मत गर्न सामान नपाइएको भनाइ

थानकोट ।

नागढुंगा ओरालोमा सडक भासिएको २१ दिन बित्दा पनि अझै बन्न सकेको छैन्।

जसले गर्दा यस खण्डमा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको छ । १७ भदौमा २५ मिटर सडक भासिएको थियो । अहिले १२ मिटर तलबाट सडक बनाउने काम भइरहेको नागढुंगा-मुग्लिन सडक योजना, पूर्वी खण्डका योजना प्रमुख गुरुप्रसाद अधिकारीले जनाए ।

‘काम सुरु भइसकेको छ, सबैभन्दा तल ग्याबिन वाल लगाएर बीचमा ‘माइक्रो पाइल’ को काम गर्छौं,’ अधिकारीले भने, ‘यसका लागि आवश्यक सामान खोजिरहेका छौं ।’ ‘एङ्करिङ’ का लागि आवश्यक रड भारतबाट मगाउनुपर्ने भएकाले सम्बन्धित निर्माण व्यवसायीले त्यसको प्रक्रिया अघि बढाइसकेको अधिकारीको भनाइ छ ।

‘अप्ठ्यारो खण्ड भएकाले काम गर्न जटिल भएको छ, अबको २० दिनभित्र सडक बनाउने काममा प्रगति हुन्छ,’ उनले भने ।

यो बाटो भएर अहिले ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकल मात्र चल्छन् । अन्य सवारीसाधन नागढुंगा सुरुङतर्फ डाइभर्ट गरिएको छ । नागढुंगा चेक पोस्टबाट सात सय मिटर अगाडि पात्ले वनमा सडक भासिएको हो ।

अहिले काठमाडौंदेखि मुग्लिनसम्म तीन वटा प्याकेजमा सडक स्तरोन्नतिको काम भइरहेको छ । विश्व बैंकको सहुलियतपूर्ण ऋण यसको स्तरोन्नति अघि बढाइएको हो । पहिलो प्याकेजका रूपमा नागढुंगा–नौबिसे खण्ड हो, जसको दूरी १२.२६ किलोमिटर छ । दोस्रो प्याकेज नौबिसे–मलेखु खण्ड हो, जसको दूरी ४३.५४ किमि छ । मलेखुदेखि मुग्लिनसम्मको खण्डलाई तेस्रो प्याकेजमा राखिएको छ । यस खण्डको दूरी ३८.८६ किमि छ ।

यी तीनवटै खण्डमा स्तरोन्नतिको काम सकिएको छैन । मलेखुदेखि–मुग्लिनअन्तर्गत कृष्णभीर खण्डमा २ सय ५१ मिटर सडक भासिएपछि सवारी आवागमन ठप्प थियो । १४ भदौमा सडक भासिँदा काडमाडौंसँगको सिधा सडक सम्पर्क टुटेको थियो । पहिरो गएको १८ दिनपछि सडक विभागले जोखिम मोलेर नयाँ ट्र्याक खोल्दै दुईतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको हो । अहिले यस खण्डमा सवारी चाप धेरै छ । यसरी आउने सवारीसाधनलाई नागढुंगा ओरालोको सडक नबन्दासम्म सुरुङमार्ग खुला गरिएको हो ।

भासिएको सडक नबन्दासम्मलाई सबै सवारीसाधन सुरुङमार्फत चलाइएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले बताए । ‘योजनाअनुसार सुरुङ खुला गर्न पाएका छैनौं, अहिले सडक भासिएर मात्र सवारी आवागमन सहज बनाउने गरी खुला गरेका हौं,’ उनले भने, ‘भासिएको सडक बनेपछि कसरी सुरुङ सञ्चालन गर्ने भनेर छलफल गरी अघि बढ्छौं ।’ अहिले सुरुङमार्ग चौबीसै घण्टा खुला गरिएको छ । कृष्णभीर खण्ड ठप्प बन्दा २ हजार ५ सय हाराहारी सवारीसाधन सुरुङमार्ग भएर ओहोरदोहोर गर्थे । यो बेला त्रिभुवन राजपथबाट काठमाडौं भित्रिने सवारीसाधनलाई खुला गरिएको थियो । अहिले ४ हजारदेखि ५ हजार हाराहारी सवारीसाधन सुरुङबाट ओहोरदोहोर गरिरहेको नेपालको भनाइ छ ।

‘हामीले चरणबद्ध रूपमा सवारीसाधनलाई सुरुङ खुला गर्दै लगेका थियौं,’ निर्देशक न्यौपानेले भने, ‘आचानक सडक भासिएका कारण मात्र आकस्मिक रूपमा खुला गरिएको हो । पछि थप तयारी गरेर मात्र पूर्ण रूपमा सुरुङ सञ्चालनमा ल्याउँछौं ।’

अहिले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले कुनै पनि शुल्क तिर्नु पर्दैन । सुरुङमार्गबाट छिर्ने र निस्कने बेला सवारीसाधनको लाइन लाग्ने गरेको छ । निर्माण थालेको ८० महिनामा ११ साउनबाट सुरुङमार्ग सञ्चालनमा आएको थियो ।

उद्घाटनलगत्तै पहिलो चरणमा सुरक्षा निकाय, एम्बुलेन्स र दमकललाई खुला गरिएको थियो । ८ भदौबाट ९ जनासम्म यात्रु क्षमता भएका निजी सवारीलाई प्रवेश दिइएको थियो । असोजसम्म तोकिएका सवारीलाई शुल्क लिएर प्रवेश खुला गर्ने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको तयारी थियो ।

तेस्रो चरणमा अन्य सवारीलाई आवगमन खुला गर्दै लग्ने तयारीमा आयोजना रहेकै बेला सडक भासिँदा सबै सवारीलाई आवागमन खुला गरिएको हो । शुल्क लिएर सवारी चलाउने गरी सबै तयारी सकिएकाले अब भासिएको खण्डमा सडक सहज भएपछि शुल्क लिइने सडक विभागका महानिर्देशक विजय जैसीले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *