प्रधानमन्त्री शाह स्वदेश फिर्ता

Thankot Times

थानकोट ।

प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री आज शनिबार अपरान्ह स्वदेश फर्किएका हुन्।
उनलाई अर्थ, गृह र पर्यटन मन्त्रीले स्वागत गरे।

उनले सम्बोधनका क्रममा भोटेकोशी बाढीको उदाहरण दिँदै हिमालयबाट आएको जलवायु सङ्कटको चेतावनीलाई विश्वले अब सुन्ने मात्र नभई त्यसअनुसार तत्काल काम गर्नुपर्नेमा जोड दिएका थिए।
विकास, लोकतन्त्र, शान्ति र युवा राष्ट्रको आशाबारे बोल्नुपर्ने अवस्थामा आफू मृत्यु र विनाश, आफन्तको प्रतीक्षामा रहेका परिवार, बेपत्ता नागरिक तथा बाढीले बगाएका पुल, सडक, विद्यालय, घर र जीविकोपार्जनका साधनबारे बोल्न बाध्य भएको उल्लेख गरेका थिए।

विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०।१ प्रतिशतभन्दा कम भए पनि जलवायु सङ्कटको ठूलो मूल्य नेपालले चुकाइरहेको प्रधानमन्त्रीको भनाइ थियो ।

सभालाई सम्बोधन गर्दै उनले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रस्ताव समेत गरे।

प्रधानमन्त्री शाहले भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका प्रतिनिधिसँग भेटवार्ता गरेका थिए। महासभामा सहभागी प्रधानमन्त्री शाह गत मंगलबार अमेरिका प्रस्थान गरेका थिए।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *