भोटेकोसी बाढीप्रभावितलाई नुवाकोट रेडक्रसको निःशुल्क एम्बुलेन्स सेवा

Thankot Times

थानकोट ।

भोटेकोसी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटका नागरिकका लागि नुवाकोट रेडक्रसले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

बाढीका कारण त्रिशूली नदीवारि र पारिका क्षेत्रमा सडक सम्पर्क टुटेपछि स्वास्थ्योपचारमा समस्या देखिएसँगै रेडक्रसले निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो । त्रिशूली अस्पतालबाट थप उपचारका लागि काठमाडौं पठाउनुपर्ने बिरामीलाई एउटा एम्बुलेन्समार्फत सेवा दिइरहेको नुवाकोट रेडक्रसले जनाएको छ ।

त्रिशूली अस्पतालबाट नुवाकोट सदरमुकामसँग सडक सम्पर्क टुटेपछि अहिले गौरिबेँसी, सिर्खाली, तारुकाघाट र गल्छी हुँदै बिरामीलाई काठमाडौं लैजाने गरिएको छ ।

त्यस्तै, सदरमुकाम क्षेत्रका बिरामीलाई बट्टारस्थित रेडक्रस आपत्कालीन क्लिनिक र तल्लो पिपलटारस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार सम्भव नभए निःशुल्क रूपमा काठमाडौंका अस्पतालमा लैजाने व्यवस्था गरिएको नुवाकोट रेडक्रसका सभापति हरि श्रेष्ठले जानकारी दिए ।

नुवाकोटको सदरमुकाम विदुर क्षेत्रमा चितवन रेडक्रसको रत्ननगर उपशाखाको एम्बुलेन्सले समेत सेवा दिइरहेको छ । त्रिशूली नदीवारि र पारिका विदुर नगरपालिकाका क्षेत्रमा बिरामीलाई निःशुल्क सेवा दिइएको र हालसम्म पाँच जनालाई काठमाडौं लगिएको नुवाकोट रेडक्रसले जनाएको छ ।

नुवाकोट रेडक्रसका कार्यालय प्रमुख समुन्द्रबाबु अधिकारीका अनुसार सेवा सञ्चालनमा लाग्ने इन्धन तथा मर्मत खर्च रेडक्रसले नै व्यहोर्ने व्यवस्था मिलाइएको छ । दुवै एम्बुलेन्सलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको उनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *