यात्रु बसमा हेरोइन, नागढुङ्गा सुरुङ मार्गबाट एकजना, सुन्धाराको होटलबाट थप दुई पक्राउ

Thankot Times

थानकोट ।

जनकपुरबाट काठमाडौं आउँदै गरेको सार्वजनिक बसमा सवार तीन जना भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

उनीहरूमाथिको अनुसन्धानका क्रममा प्रहरीले काठमाडौंको सुन्धारास्थित एक होटलबाट थप दुई जनालाई ट्रामाडोल क्याप्सुलसहित नियन्त्रणमा लिएको छ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार २०८३ असोज २३ गते ब्युरोको शाखा कार्यालय थानकोट र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले बस जाँच गर्ने क्रममा तीन जनाको साथबाट ३२.७३० ग्राम खैरो हेरोइन बरामद गरेको हो।

काठमाडौं प्रवेश गर्ने सार्वजनिक सवारीसाधन तथा शंकास्पद यात्रुको जाँचका क्रममा चन्द्रागिरि नगरपालिका-२ स्थित सुरुङमार्ग क्षेत्रमा उक्त बस रोकिएको थियो। जनकपुरबाट आएको यात्रुवाहक बसमा सवार भारतीय नागरिकहरूको साथमा लागुऔषध फेला परेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ।

बसमा तीन भारतीय नागरिक पक्राउ

पक्राउ पर्नेमा भारतको बिहार राज्य, समस्तीपुर जिल्ला वडा नम्बर २५ ठेगाना भएका १९ वर्षीय पुष्पम प्रकाश, २५ वर्षीय महेश कुमार र १९ वर्षीय सोनु कुमार रहेका छन्।

उनीहरूको साथबाट बरामद खैरो हेरोइन कहाँबाट ल्याइएको र कसलाई दिन लागिएको थियो भन्ने विषय थप अनुसन्धानबाट खुल्न बाँकी छ।

अनुसन्धान होटलसम्म पुग्यो

ब्युरोका अनुसार बसमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्ने क्रममा बरामद हेरोइन खरिद गर्ने भनिएका थप दुई व्यक्तिलाई सुन्धाराको एक होटलबाट पक्राउ गरिएको हो।

काठमाडौं महानगरपालिका-२२ स्थित उक्त होटलबाट पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ ठेगाना भएकी २३ वर्षीया कठी खड्की र सोही ठाउँका २५ वर्षीय रामकृष्ण खड्की रहेका छन्। उनीहरूबाट १ हजार १९० वटा ट्रामाडोल क्याप्सुल बरामद भएको ब्युरोले जनाएको छ।

घटनामा कुल पाँच जना पक्राउ परेका छन्। बरामद सामग्रीको विवरणमा ३२.७३० ग्राम खैरो हेरोइन, १ हजार १९० वटा ट्रामाडोल क्याप्सुल, आठ थान मोबाइल र ७५ हजार २२० रुपैयाँ नगद उल्लेख छ।

लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट बुझाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ