आईसीसी विश्वकप लिग-२ : क्यानडाको सामना गर्दै नेपाल
थानकोट ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम एकदिवसीय शृंखलाको पहिलो खेलमा आज क्यानडाको सामना गर्दै छ ।
खेल ओमानको अल अमिरेट्स क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११:१५ मा सुरु हुनेछ ।
नेपाल क्यानडाविरुद्ध जित निकाल्दै सुखद सुरुआत गर्ने लक्ष्यमा छ । यता, क्यानडा पनि पहिलो जितको खोजीमा हुनेछ ।
क्यानडाले शृंखलाको पहिलो खेलमा घरेलु टोली ओमानसँग ४१ रनको हार व्यहोरेको थियो ।
यो खेलमा जित निकाल्न सके नेपाल क्यानडालाई पछि पार्दै छैटौँ स्थानमा उक्लिने छ । यदि, क्यानडा विजयी भए छैटौँ स्थानमा थप बलियो बन्नेछ ।
हाल ३२ खेलबाट २४ अंक जोडेको नेपाल सातौँ स्थानमा छ । एक खेल बढी खेलेको क्यानडा २५ खेलबाट छैटौँ स्थानमा छ ।
हेड टु हेड
एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र क्यानडा दुई वर्षपछि आमने सामने हुँदै छन् । हालसम्म यी दुई बीच पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् ।
हालसम्म नेपालले तीन र क्यानडाले दुई खेल आफ्नो पक्षमा पारेका छन् । पछिल्ला दुई खेलमा भने नेपाल क्यानडासँग पराजित भएको थियो ।














