दशैँको टीकाअघि नै आरुघाटमा बेलिब्रिज जोडेर गाडी सञ्चालन गरिने

Thankot Times

थानकोट ।

बुढीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण गोरखा र धादिङ जोड्ने आरुघाटको मुख्य मोटरेबल पक्की पुल बगाएपछि यातायात अवरुद्ध छ ।

यो क्षेत्रमा यातायात सञ्चालन गर्न सरकारले काम अघि बढाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार पक्की पुल बगाएपछि तत्काल अस्थायी बेलिब्रिज निर्माणका लागि ७ ट्रक आवश्यक निर्माण सामग्री हिजो निर्माणस्थल पुर्‍याइएको छ ।

बुढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिका–९, नयाँ पुलमा गोरखा र धादिङ जोड्ने आरुघाटको पक्की पुल बगाउँदा पुलको तीन खण्डमध्ये गोरखातिरको एउटा खण्ड बगाएको थियो । सडक डिभिजन कार्यालय हेटौँडाबाट पठाइएका निर्माण सामग्री गोरखा बजार हुँदै आरुघाट पुर्‍याइएको छ ।

आइतबार बिहान उत्तरी गोरखाको सिर्गी हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढीले पुलको गोरखातर्फको २२ मिटर ‘आरसीसी’ भाग बगाएपछि दुई जिल्लाबिच सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो ।

दशैँको टीकाअघि अर्थात् अबको एक हप्ताभित्र बेलिब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम थालिएको छ । आजदेखि पुलको जग खन्ने र ढलानको काम शुरु हुँदैछ । पुल जडानको काम नेपाली सेनाको प्राविधिक टोलीबाट हुनेछ ।

पुलको ६० मिटर लामो ट्रस संरचना सुरक्षित रहेकाले त्यसमा थप भाग जोडेर बेलिब्रिज सञ्चालन गर्न लागिएको छ । सडकखण्ड ठप्प हुँदा गोरखाका आरुघाट, धार्चे तथा चुमनुब्री गाउँपालिका र धादिङको सल्यानटार क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ