नेपाली गेमिङ उद्योगलाई विश्वस्तरीय बनाउने प्रधानमन्त्री शाहको घोषणा
थानकोट ।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली गेम डेभलपमेन्ट तथा आईटी उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन नीतिगत सुधार, कर सहुलियत र लगानीमैत्री वातावरण निर्माण गर्ने बताएका छन् ।
प्रधानमन्त्री शाहले नेपालमै विकास गरिएका लुडो र कलब्रेकजस्ता गेमले विश्व बजारमा करोडौँ डाउनलोड हासिल गरेको उल्लेख गर्दै नेपाली युवामा विश्वस्तरीय डिजिटल उत्पादन निर्माण गर्ने क्षमता रहेको बताएका हुन् ।
उनका अनुसार लुडो गेम करिब २० करोडपटक र कलब्रेक गेम १५ करोडभन्दा बढी पटक डाउनलोड भएका छन् । नेपालमै रहेर विश्वबजारमा सफलता हासिल गरेका गेम कम्पनी तथा गेम एप निर्माणमा सक्रिय युवाहरूको समस्या बुझ्न उनीहरूसँग छलफलसमेत गरिएको उनले जानकारी दिएका छन् ।
गेम डेभलपमेन्ट क्षेत्रलाई सहज बनाउँदै उद्योगका रूपमा विकास गर्न आवश्यक नीतिगत व्यवस्था पुनरावलोकन गरिने प्रधानमन्त्री शाहको भनाइ छ । नेपालबाटै विश्वस्तरीय ‘युनिकर्न’ कम्पनी निर्माण गर्न सहज हुने कानुनी तथा व्यावसायिक वातावरण तयार पार्ने विषयमा सरकारले काम अघि बढाउने उनले बताएका छन् ।
त्यस्तै, आईटी उत्पादन तथा निर्यात क्षेत्रलाई थप प्रोत्साहन गर्न करसम्बन्धी व्यवस्था सहज बनाउने, नीतिगत सुधार गर्ने र अन्तर्राष्ट्रिय आम्दानीसँग सम्बन्धित नियमलाई थप व्यावहारिक बनाउने योजना पनि उनले अघि सारेका छन् ।
प्रधानमन्त्री शाहले नेपाली प्रतिभा तथा कम्पनीले सहज रूपमा आम्दानी गर्न र त्यसलाई पुनः लगानी गर्न सक्ने वातावरण निर्माणमा सरकारले ध्यान दिने बताएका छन् ।
यसका साथै गेमिङ तथा समग्र आईटी उद्योगको विकासका लागि गेम जाम, स्टार्टअप कार्यक्रम, ह्याकाथन र इकोसिस्टमसम्बन्धी कार्यक्रमहरूमा लगानी गर्ने योजना रहेको उनले उल्लेख गरेका छन् । आईटी क्षेत्रका कम्पनी, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच नियमित अन्तरक्रिया तथा समन्वयलाई पनि प्राथमिकता दिइने उनको भनाइ छ ।
नेपाली गेमिङ तथा आईटी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्दै नेपालबाटै विश्वस्तरीय प्रविधि कम्पनी निर्माण गर्न आवश्यक वातावरण तयार पार्ने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री शाहले बताएका छन् ।











