ग्लोबल आईएमई बैंकका सीईओ रेग्मी बैंकर्स संघको अध्यक्षमा निर्विरोध चयन
थानकोट ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार राजधानीमा सम्पन्न संघको साधारणसभाले रेग्मीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका रेग्मी यसअघि संघको उपाध्यक्ष थिए । अध्यक्ष सन्तोष कोइरालाको कार्यकाल सकिएसँगै रोलक्रमका आधारमा रेग्मी स्वतःअध्यक्ष बनेका हुन् । यसअघिका अध्यक्ष कोइराला माछापुच्छ्रे बैंकका सीईओ हुन् ।
यस्तै संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल चयन भएका छन् । यसअघि उनी संघको कार्यसमिति सदस्य थिए । निवर्तमान अध्यक्षसहित संघको कार्यसमिति १० सदस्यी बनेको छ । प्रमुख कार्यकारी अधिकृतबाट हटेपछि संघको सदस्य पनि स्वतः जाने संघको विधानत व्यवस्था रहेको छ । यही व्यवस्थाअनुसार हालै मात्र लक्ष्मी सनराइज बैंकबाट अवकाश भएका अजय बिक्रम शाहको सदस्य पद रिक्त बन्न पुगेको छ ।
यस्तै, कार्यसमितिमा नियमित दुईपटक सदस्य भएपछि माथिल्लो पदाधिकारीमा जाने वा छाड्ने विकल्प रहन्छ । यसो हुँदा संघमा दुईपटक सदस्य बनिसकेका एभरेस्ट बैंकका सीईओ सुदेश खालिङको समेत पद रिक्त हुन पुगेको छ ।
यता एक कार्यकाल पूरा गरिसकेका नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय पुनः एक कार्यकालका लागि सदस्यमा दोहोरिएका छन् । खालिङ र शाहको रिक्त ठाउँमा सानिमा बैंकका पवनकुमार आचार्य र सिद्धार्थ बैंकका रामेश्वरप्रसाद बस्याल आउने भएका छन् ।
कुमारी बैंकका प्रमुख कार्यकारी खनाल उपाध्यक्षमा उक्लिने भएपछि अझै एक कार्यसमिति सदस्य रिक्त हुनेछ ।
उनको ठाउँमा नयाँ कार्यसमितिले सदस्य नियुक्त गर्नेछ ।










