मनकामना केबलकार सञ्चालनको २८ वर्ष पूरा, हालसम्म २ करोड १२ लाखभन्दा बढीले गरे यात्रा
थानकोट ।
नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालनको २८ वर्ष पूरा गरेको छ । मनकामना केबलकार वि.सं २०५५ मंसिर ८ गतेदेखि निरन्तर सञ्चालनमा छ ।
चितवन को–इ समूहअन्तर्गत मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आएको केबलकारबाट हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुले यात्रा गरिसकेको कम्पनीले जनाएको छ ।
समूहका संस्थापक स्व. लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र नेतृत्वमा सुरु भएको मनकामना केबलकारले नेपालको धार्मिक पर्यटन र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
२८ वर्ष पूरा भएको अवसरमा कम्पनीले संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, उनले देखाएको बाटो र परिकल्पनालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
कम्पनीले केबलकार प्रयोग गर्ने यात्रु, कर्मचारी, पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदार, स्थानीय समुदाय र सहयोग गर्ने सरकारी निकायप्रति आभार व्यक्त गरेको छ ।
आगामी दिनमा पनि यात्रुलाई सुरक्षित र सहज सेवा प्रदान गर्दै केबलकारको सेवा थप स्तरीय बनाउने कम्पनीले जनाएको छ ।










