सञ्चालनमा आउने भयो चोभार बन्दरगाह

Thankot Times

थानकोट ।

काठमाडौंको चोभारस्थित चोभार सुख्खा बन्दरगाह एक साताभित्रमा सञ्चालनमा आउने भएको छ । सुख्खा बन्दरगाह सञ्चालनका लागि भइरहेको तयारी अन्तिम अवस्थामा पुगेको भन्सार विभागले जनाएको छ ।

काठमाडौंको चोभारस्थित चोभार सुख्खा बन्दरगाह एक साताभित्रमा सञ्चालनमा आउने भएको छ । सुख्खा बन्दरगाह सञ्चालनका लागि भइरहेको तयारी अन्तिम अवस्थामा पुगेको भन्सार विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाहको उद्घाटन गर्नेछन् । ‘हामीले चैत २२ गतेका लागि प्रधानमन्त्रीलाई समय मिलाउन भनेका छौं’, उनले भने, ‘उद्घाटनको अन्य तयारीको विषयमा बुधबार छलफल हुन्छ ।’

मंगलबार राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै चोभार सुख्खा बन्दरगाह सञ्चालनको अनुमति दिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले गत असारमा चोभारमा सुख्खा बन्दरगाहको पूर्वाधार निर्माणको काम सम्पन्न गरेको थियो । यद्यपि बन्दरगाह सञ्चालनको मोडालिटी नबन्दा बन्दरगाह लामो समयसम्म सञ्चालन हुन सकेको थिएन ।

राष्ट्र बैंकले जारी गरेको निर्देशिकाअनुसार मेची, विराटनगर, वीरगन्ज, सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट भित्रिएका वस्तुको जाँचपास सीधै चोभार सुख्खा बन्दरगाहमा गर्न सकिन्छ । भन्सार विभागले बन्दरगाह सञ्चालनार्थ पूर्वतयारीको काम सम्पन्न भएको जनाएको छ । तर, कस्तो मोडालिटी बनाउने र उद्घाटनको थप विषयमा विभागले बुधबार छलफल गर्ने जनाएको छ ।

विभागले चैत १० गते सूचना जारी गर्दै आन्तरिक परिवहनका लागि सडक मार्गसमेत तोकिदिएको छ । जसअनुसार मेची भन्सार कार्यालय, काकाँडभित्ता झापाबाट मेची–बिर्तामोड–थानकोट–कलंकी–बल्खु हुँदै चोभार बन्दरगाह तोकिएको छ । त्यस्तै विराटनगर भन्सार कार्यालय बुधनगर मोरङबाट आउने सवारीले विराटनगर–दुहवी–थानकोट–कलंकी–बल्खु हुँदै चोभार बन्दरगाह प्रवेश गर्नुपर्ने बताइएको छ ।

वीरगन्ज भन्सार कार्यालय, सिर्सिया र सुख्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया, पर्साबाट आउने मालबाहक सवारीले सिर्सिया–परवानिपुर–सिमरा–थानकोट–कलंकी–बल्खु सडकखण्डको प्रयोग गरी चोभार बन्दरगाह पुग्नुपर्ने भन्सार विभागले जनाएको छ ।
साथै भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देहीबाट नेपाल प्रवेश गर्ने सवारीले बेलहिया–परासी–भूमही–थानकोट–कलंकी–बल्खु हुँदै चोभार बन्दरगाह प्रवेश गर्नुपर्ने बताइएको छ ।

चोभारस्थित बन्दरगाह अहिले सरकारले नै सञ्चालन गर्ने नेपाल इन्टर मोडल यातायात समितिका कार्यकारी निर्देशक आशिष गजुरेलको भनाइ छ । अहिले नै निजी क्षेत्रलाई सञ्चालन गर्न दिने अवस्था नभएकाले सरकार आफैंले बन्दरगाह सञ्चालन गर्न लागेको हो ।

बन्दरगाहमा सामान परीक्षण गर्ने ठाउँ ५४ मिटर लम्बाइ र २४ मिटर चौडाइका दुइटा गोदाम निर्माणसमेत सम्पन्न भइसकेको छ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने दीर्घकालीन सोचअनुरुप बन्दरगाहमा अत्याधुनिक संरचना तयार भएको हो ।
यसका लागि सरकार र विश्व बैंकबीच सन् २०१३ मा भएको सहमतिअनुसार २०१९ भित्रै काठमाडौं सुख्खा बन्दरगाह निर्माण सम्पन्न हुनुपर्ने थियो ।

तर, कोरोना महामारी र निर्माण सामग्रीको उपलब्धतामा भएको कठिनाइले ढिला हुन पुगेको हो । कुल २२० रोपनी क्षेत्रफलमा बन्दरगाह फैलिएर तयार भए पनि त्यहाँ पुग्ने बाटो भने साँघुरो छ । यसको व्यवस्थापन नै मुख्य चुनौती रहेको छ । काठमाडौं तराई–मधेस द्रुतमार्ग निर्माण भएर सञ्चालनमा आएपछि मात्रै बन्दरगाह पूर्णरुपमा सञ्चालनमा आउने छ ।

यससँगै काठमाडौं तथा आसपासमा भित्रिने मालबाहक सवारीसाधन सीमा नाकामा नरोकिई सीधै काठमाडौं आउन सक्नेछन् । बन्दरगाहमा ५०० ट्रक र त्यति नै संख्यामा कन्टेनर अट्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *