चित्लाङमा घुमन्तेको चहलपहल बढ्दै

Thankot Times

थानकोट, चैत्र १ ।

कोरोना महामारीका कारण २ वर्षसम्म मारमा परेका मकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङका रिसोर्ट र होमस्टेहरू लयमा फर्किन थालेका छन् ।

कोरोना सक्रमणमा कमी आएसँगै यहाँका होमस्टे र रिसोर्टमा आन्तरिक एवं बाह्य पर्यटकको चाप बढ्न थालेको हो । ‘केही समययता यहाँका रिसोर्ट र होमस्टे पर्यटकले भरिभराउ छन्,’ चित्लाङ रिसोर्टका सञ्चालक देवेन्द्र नेपालले भन्नुभयो ।

चन्द्रागिरि डाँडाको काखमा रहेको चित्लाङको मौसम र स्वच्छ हावापानीका कारण पनि पर्यटकको रोजाइमा पर्ने गरेको हो । चित्लाङमा मुख्य गरी काठमाडौंबाट आन्तरिक एवं बाह्य पर्यटकहरू आउने गर्छन् । ‘त्यसो त हेटौंडा, वीरगन्ज र चितवनवाट पनि पर्यटकहरू आउँछन्,’ गुर्जुधारा होमस्टेका सञ्चालक बुद्धरत्न मानन्धरले भन्नुभयो, ‘यहाँ गर्मी र जाडो दुवै मौसममा पर्यटकहरू आउँछन् । तर गर्मीमा अलि बढी चाप हुन्छ ।’

यहाँका होमस्टे र रिसोर्टमा बस्न काठमाडौंतर्फबाट थानकोट, चन्द्रागिरि केवलकार हुँदै हिँडेर आउने र साना सवारीसाधनमा आउनेको संख्या अधिक छ । थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको स्तरोन्नतिसँगै पर्यटकको चाप यहाँ ह्वात्तै बढेको मानन्धरले बताउनुभयो । १२ किलोमिटर लामो यो मार्गलाई थप स्तरीकरण गर्न स्थानीय अझै लागिरहेका छन् । चित्लाङमा अहिले २५ वटा होमस्टे र ५ वटा रिसोर्ट छन् । थपिने क्रम पनि बढ्दो छ । उनीहरूले पाहुनाहरूलाई अर्गानिक खाद्यान्न र परिकार मात्र पस्किने गरेका छन् ।

चित्लाङमा नेवार समुदायको मुख्य बसोबास रहेको छ । त्रिभुवन राजपथ निर्माण नहुँदासम्म राजधानी र तराई आवतजावत गर्ने मुख्य प्रवेशद्वार नै चित्लाङ थियो । राजधानी प्रवेश गर्ने पैदलयात्रीहरू चित्लाङमा बास बसेर चन्द्रागिरिको उकालो पार गर्दै काठमाडौं छिर्ने गर्थे । त्यसबेला पैदलयात्रुले बास बस्ने गरेका पाटीपौवा अझै देख्न सकिन्छ । केहीको भग्नावशेष मात्र बाँकी छ । यहाँ अशोक सम्राट्ले निर्माण गरेको अशोक चैत्य पनि छ । चैत्यको अवलोकन गर्न चीनलगायत मुलुकबाट बौद्धमार्गीहरू आउने गरेका स्थानीय बताउँछन् ।

आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले ११ वर्षअघिदेखि चित्लाङमा होमस्टे सञ्चालनमा ल्याइएको हो । गाउँको रहनसहन र पारिवारिक वातावरण रुचाउने पर्यटकलाई लक्षित गरी होमस्टे सुरु गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *