मातातीर्थ मेलाको तयारी सकियो, श्रद्धालुले डिपबोरिङ्गको पानीले स्नान गर्नुपर्ने

Thankot Times

थानकोट ।

वर्षभरिका सबै औँसीहरू मध्येको सर्वश्रेष्ठ मानिएको वैशाख औँसी अर्थात मातातीर्थ औँसीका अवसरमा चन्द्रागिरि ६ मातातीर्थ कुण्ड क्षेत्रमा लाग्ने मेलाको सम्पूर्ण तयारी सकिएको छ । मातातीर्थ औँसीका दिन वैशाख १७ गते शनिबार सो क्षेत्रमा मेला लाग्दैछ।

पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण स्थानीय प्रशासनले मातातीर्थ कुण्ड क्षेत्रमा मातातीर्थ औँसीमा मेला लगाउन रोक लगाएको थियो । यस क्षेत्रमा मातातीर्थ औँसीका अवसरमा दिवंगत आमाको नाममा श्राद्ध गर्न लाखाैंको संख्यामा श्रद्धालुहरूको उपस्थिति रहने गरेको छ ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले थानकोट टाइम्सलाई दिएको जानकारी अनुसार मेला भर्न मातातीर्थ पुग्ने सबै श्रद्धालुहरूहरूको सुविधाका लागि आवश्यक न्युनतम पूर्वाधारहरू सहितको तयारी भइसकेको छ । मेला व्यवस्थापनका लागि सरोकार वालाहरूसँग छलफल भई जिम्मेवारी बाँटफाट भइसकेको छ ।

मातातीर्थका ढुंगेधारामा पानी सुकेपछि महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले उक्त धारामा डिपबोरिङ मार्फत पानी व्यवस्थापन गरेको बुझिएको छ । पछिल्ला वर्षहरूमा सो संस्थाले मातातीर्थ औँसीका लागि पानी व्यवस्थापनको कार्य गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *