मातातीर्थ औंसी, आमाप्रति श्रद्धा व्यक्त गर्ने दिन

Thankot Times

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मातातीर्थ औंसी मनाउने गरिन्छ ।

मातातीर्थ औंसीका दिन जीवित आमालाई खान-लाउन दिएर सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । वैशाख कृष्णपक्षको औंसीका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको संस्कृतिविद्हरूको तर्क रहने गरेको छ ।

‘शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवः’, ‘आचार्यदेवो भवः’ भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ’ । ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती’ अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ ।

जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि यस दिनलाई पुण्यतम पर्व मानिन्छ । यस दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्छ । बौद्ध धर्मावलम्बी समेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न पुग्दछन् । यस दिन मातातीर्थ पुगि आमाको नाममा सङ्कल्प गरेर श्राद्ध गरेमा कहिल्यै नाश नहुने पुण्य प्राप्त भई दिवङ्गत माता खुसी हुने शास्त्रमा वर्णन गरिएको पाइन्छ ।

किंवदन्ती अनुसार भगवान विष्णुको सातौँ अवतारका रुपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यहाँ आइपुगे । यहाँका स्थानीयले अपरिचित र नौलो देखेर राममाथि आक्रमण गरे । राम र स्थानीयबीच घमासान युद्व भयो । युद्धले गर्दा दुवै पक्ष आकुल–व्याकुल भएका थिए । त्यही बेला माता सिताजीलाई प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी भेटिएन । अनि, भगवान रामले गंगामाताको स्तुति गर्न थाले । मन्त्र जपेर जमिन वाण हाने । वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात दर्शन पाइन् । दर्शन पाउँदा कुण्डमा रहेको ढुंगामा सीताको मूर्ति कोरिन पुग्यो । त्यतिबेला त्यहाँ घना वन थियो । गाई चराउन आएका गोठाला कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । तर, एउटा गोठालोको भने मुखमा हालेको रोटी मुखमा नपरी कुण्ड भएतिर मात्र जान थालेछ । कुण्डमा हेर्दा उसले त्यहाँ आमाको दर्शन पाएछ । तर, घर फर्कने बेला गोठालोले आमालाई पनि साथै लिएर जाने इच्छा राखे छ । तर, ती आमाले वर्षेनी वैशाख औँशीका दिन आफ्नो दर्शनका लागि त्यहीँ आउन भनिछन् । त्यसपछि त्यस ठाउँको नाम मातातीर्थ रहन पुगेछ ।

स्वस्थानी व्रतकथाअनुसार मातातीर्थमा सतीदेवीको अंग पतन भएर मातृलेश्वर महादेवको उत्पन्न भएको थियो । त्यसैले गर्दा पनि त्यहाँ गएर विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने विश्वास गरिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *