मातातीर्थ मेलामा उबेला नै ५० हजार भन्दा बढी श्रद्धालुहरू हुन्थे

Thankot Times

थानकोट ।

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मातातीर्थ औंसी मनाउने गरिन्छ । आज वैशाख कृष्णपक्षको औंसीका अवसरमा चन्द्रागिरि ०६ स्थित मातातीर्थ कुण्डमा दिवंगत आमाको नाममा श्राद्ध गर्न श्रद्धालुहरूको बाक्लो जमघट भइरहेको छ । पछिल्लो दुई वर्ष कोरोना भाइरस महामारीका कारण  यस स्थलमा मेला लगाउन निषेध गरिएकोमा यस वर्ष श्रद्धालुहरूको घुँइचो देखिएको छ ।

यस दिन मातातीर्थ पुगि आमाको नाममा सङ्कल्प गरेर श्राद्ध गरेमा कहिल्यै नाश नहुने पुण्य प्राप्त भई दिवङ्गत माता खुसी हुने शास्त्रमा वर्णन गरिएको पाइन्छ ।

किंवदन्ती अनुसार भगवान विष्णुको सातौँ अवतारका रुपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यहाँ आइपुगे । यहाँका स्थानीयले अपरिचित र नौलो देखेर राममाथि आक्रमण गरे । राम र स्थानीयबीच घमासान युद्व भयो । युद्धले गर्दा दुवै पक्ष आकुल–व्याकुल भएका थिए । त्यही बेला माता सिताजीलाई प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी भेटिएन । अनि, भगवान रामले गंगामाताको स्तुति गर्न थाले । मन्त्र जपेर जमिन वाण हाने । वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात दर्शन पाइन् । दर्शन पाउँदा कुण्डमा रहेको ढुंगामा सीताको मूर्ति कोरिन पुग्यो । त्यतिबेला त्यहाँ घना वन थियो । गाई चराउन आएका गोठाला कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । तर, एउटा गोठालोको भने मुखमा हालेको रोटी मुखमा नपरी कुण्ड भएतिर मात्र जान थालेछ । कुण्डमा हेर्दा उसले त्यहाँ आमाको दर्शन पाएछ । तर, घर फर्कने बेला गोठालोले आमालाई पनि साथै लिएर जाने इच्छा राखे छ । तर, ती आमाले वर्षेनी वैशाख औँशीका दिन आफ्नो दर्शनका लागि त्यहीँ आउन भनिछन् । त्यसपछि त्यस ठाउँको नाम मातातीर्थ रहन पुगेको जनश्रुती छ ।

अभिर वंशले शासन गरेका मातातीर्थ क्षेत्रमा कुनै शिलालेख र मूर्ति प्राप्त भएका छैनन् तर नजिकैका स्थान बलम्बु, थानकोटमा लिच्छवीकालका अभिलेख छन् । मातातीर्थ कुण्डका ऐतिहासिक १२ वटा ढुंगेधारा र कुण्ड वि.सं. १७९६ मा राजा जय विष्णुले बनाएको मानिन्छ । वर्तमान समयमा मूर्तिकार रामकृष्ण भण्डारीले बनाएका आमाको आधुनिक मूर्तिले त्यस क्षेत्रकों महिमा बुझाएको छ ।

थानकोट टाइम्सले प्राप्त गरेको मातातीर्थ औंसीका दिन  सन् १९५९ (वि.सं. २०१६ ) मा खिचिएको फोटोमा ५० हजार भन्दा धेरै श्रद्धालुहरू मेला भर्न आएको विवरण लेखिएको छ । यातायातको सहज पहुँच नहुँदा समेत मातातीर्थमा तीर्थ भर्न आइपुग्ने जनसागर हेरेर पनि यस क्षेत्रको महिमा व्यापक रहेको मान्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *