मेयर गिरीद्वारा पदभार ग्रहण, महत्वपूर्ण दुई निर्णयमा हस्ताक्षर

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख घनश्याम गिरीले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

बलम्बुस्थित नगर कार्यपालिकाको कार्यालयमा नगरप्रमुख गिरीले पदभार ग्रहण गरेका हुन् । गिरी विहीबार चन्द्रागिरि नगरपालिकाको नगरप्रमुख पदमा पुनः निर्वाचित भएका थिए । पदभार ग्रहण गर्नुअघि मेयर गिरीलाई काठमाण्डाैका जिल्ला न्यायाधीशले बबरमहलस्थित जिल्ला निर्वाचन आयोगको कार्यालयमा पद तथा गोपनियताको सपथ गराएका थिए ।

शुक्रबार दिउँसो बलम्बुमा पदभार ग्रहणपछि नगरप्रमुख गिरीले नगरका सबै वडा तथा नगर कार्यपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा बापतको राजश्व असुलीलाई नगद रहित पद्धतीमा कारोबार गर्ने निर्णयमा दस्तखत गरेका छन् । उक्त निर्णय कार्यान्वयन भएसँगै सेवाग्राहीले चन्द्रागिरि नगरमा बुझाउनु पर्ने राजश्वहरू मोबाइलबाट स्क्यान गरि भुक्तानी गर्ने सुविधा पाउनेछन् ।
त्यस्तै, नगरप्रमुख गिरीले चन्द्रागिरि नगर यातायात गुरूयोजना तयारीका लागि आवश्यक प्रक्रिया सुरू गर्ने कार्यको निर्णयार्थ नगर कार्यपालिकाको बैठक समक्ष पेश गर्ने निर्णयमा दस्तखत गरेका छन् । पदभार ग्रहण कार्यक्रममा निवर्तमान उपप्रमुख लिशा नकर्मी, प्रमुख कार्यकारी अधिकृत निरज पाैडेल लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । नगरका नवनिर्वाचित ७६ जनप्रतिनिधिहरूलाई सोमबार नगरप्रमुख गिरीले पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *