चन्द्रागिरिमा दोश्रो इनिङ्ग सुरू गर्न जनमत पाउने चार वडाध्यक्षहरू

Thankot Times

थानकोट ।

मुलुक संघीयतामा रूपान्तरण भएपश्चातको स्थानीय तहमा भएको दोश्रो निर्वाचनको मतगणना मुलुकका अधिकांश स्थानीय निकायमा सकिएको छ । पछिल्लो विवरण अनुसार देशका ६ सय ९७ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ ।

चन्द्रागिरि नगरपालिकामा नगरप्रमुखमा नेपाली काँग्रेसले जित हात पार्दा उपप्रमुखमा नेकपा एमालेले जित दर्ता गर्यो । नगरको दोश्रो मेयरका रूपमा नेपाली काँग्रेसका घनश्याम गिरी पुनः निर्वाचित हुँदा उपमयेरम नेकपा एमालेकी वसन्ती श्रेष्ठ निर्वाचित भइन् ।

चन्द्रागिरि नगरका १५ वटा वडा मध्ये ९ वटा वडामा नेपाली काँग्रेसले वडाध्यक्ष पदमा विजय हात पारेको छ । गत स्थानीय तह निर्वाचनमा उसले ५ वडामा जित हासिल गरेको थियो । त्यस्तै नेकपा एमालेले ४ वटा वडामा विजय  हात पारेको छ । गत स्थानीय तह निर्वाचनमा उसले ९ वटा वडामा जित हासिल गरेको थियो । त्यस्तै नेकपा माओवादी केन्द्रले चन्द्रागिरिका २ वटा वडामा  जित हात पारेको छ । उसले गत स्थानीय तह निर्वाचनमा एउटा वडामा जित हासिल गरेको थियो ।

वडाध्यक्ष पदमा नगरका १५ मध्ये ८ निवर्तमान वडाध्यक्षहरूले दोहोरिने इच्छा देखाएकामा चार जना मात्रै दोहोरिएका छन् ।

चन्द्रागिरि ३ थानकोटमा नेपाली काँग्रेसका दुर्गालाल महर्जन दोहोरिएका छन् उनले नेकपा माओवादी केन्द्रका देवकृष्ण महर्जन ९० तथा नेकपा एमालेका नारायण बहादुर महर्जनलाई १८३ मतले पछि पारे ।

चन्द्रागिरि वडा नं. ४ थानकोटमा नेपाली काँग्रेसकै कृष्णप्रसाद खड्गीले नेकपा एमालेका लेमन श्रेष्ठलाई ६४८ मतले पछि पार्दै पुनः पाँच वर्ष वडाको नेतृत्व गर्ने जनमत पाए ।

त्यस्तै, चन्द्रागिरि ६ महादेवस्थानको वडाध्यक्षमा नेकपा एमालेका सन्जय सिग्देल दोहोरिँदा नेपाली काँग्रेसका शान्त उदास करीब १०० मतले सिग्लेल भन्दा पछि परे ।

चन्द्रागिरि वडा नं. ७ महादेवस्थानमा नेपाली काँग्रेसका शम्भुकुमार केसी वडाध्यक्षमा दोहोरिँदा नेकपा एमालेका श्रीहरी थापा १२८ मतले पछि परे ।

दोश्रो कार्यकालका लागि पुनः निर्वाचित भएका चार वटै वडामा सम्बन्धित उम्मेवारको प्यानल नै विजयी भएको छ ।

दोश्रो कार्यकालका लागि दोहोरिन उम्मेदवारी दर्ता गराएका निवर्तमान वडाध्यक्षहरू चन्द्रागिरि १ का राजेन्द्र केसी, चन्द्रागिरि ८ का सन्तोष खड्का, चन्द्रागिरि १२ का प्रकाश श्रेष्ठ तथा चन्द्रागिरि १३ का बालमुकुन्द विडारी पर्याप्त जनमत पाउन असफल रहे । श्रेष्ठले नेपाली काँग्रेस पार्टीबाट उम्मेदवारी दिएका थिए भने अन्य तीन जनाले नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका थिए ।

चन्द्रागिरि १ मा राजेन्द्र केसी नेपाली काँग्रेसका हरिश्याम रानामगर भन्दा ६४ मतले पछि परे भने चन्द्रागिरि ८ मा सन्तोष खड्का गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेसका प्रल्हाद रिजालभन्दा ४५० मतले पछि परे । त्यस्तै, चन्द्रागिरि १२ प्रकाश श्रेष्ठ नेकपा एमालेका न्हुच्छे बहादुर महर्जनभन्दा १९७ मतले पछि रहे । चन्द्रागिरि १३ मा बालमुकुन्द विडारी नेपाली काँग्रेसका श्रीकृष्ण खत्रीभन्दा २२९ मतले पछि रहे ।

* यसअघि चन्द्रागरि ३ मा भुलवश अन्यथा विवरण उल्लेख भएकाेमा सच्याइएकाे छ- सम्पादक


Leave a Reply

Your email address will not be published. Required fields are marked *