जनप्रतिनिधिले सम्हाले कार्यभार: कुन वडामा के भयो पहिलो निर्णय ?

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा दोश्रो स्थानीय तह निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरूले सोमबार पद बहाली गरेका छन् । पद तथा गोपनियताको सपथ लिएपछि जनप्रतिनिधिहरूले सम्बन्धित वडामा पुगि पदभार ग्रहण गरेका हुन् ।

नगर उपप्रमुख बसन्ती श्रेष्ठ, सबै १५ वडाका वडाध्यक्षहरू तथा वडा सदस्यहरूले नगरप्रमुख घनश्याम गिरी समक्ष पद तथा गोपनियताको सपथ लिएका थिए । चन्द्रागिरि नगरपालिकाकी नवनिर्वाचित उपप्रमुख बसन्ती श्रेष्ठले सोमबार नै पदबहाली गरेको बताइएको छ ।

नगरप्रमुख घनश्याम गिरीले भने गत शुक्रबारनै पदबहाली गरिसकेका छन् ।

चन्द्रागिरि नगरका अधिकांश वडाहरूमा नवनिर्वाचित जनप्रतिनिहरूले पदबहाली गरेका छन् । वडाकार्यालयमा पदभार ग्रहण गर्न पुगेका नवनिर्वाचित जनप्रतिनिधिहरू स्वागत गर्न पाउँदा कर्मचारीहरू प्रफुल्लित देखिन्थे ।

“पाँच वर्षे कार्यकाल सुरू गर्दैगर्दा पहिलो निर्णय के गर्नुभयो” भनि थानकोट टाइम्सले नगरका नवनिर्वाचित वडाध्यक्षहरूलाई सोधेको थियो ।

चन्द्रागिरि १, दहचोकमा पदबहालीपछि निर्वाचन स्वच्छ, भयरहित एवं मर्यादित रूपमा सम्पन्न गर्न सहयोग गर्नै सबै राजनीतिक दल, कर्मचारीहरू लगायतलाई पूर्व जनप्रतिनिधिहरूलाई धन्यवाद् दिने निर्णय गरिएको वडाध्यक्ष हरिश्याम रानामगरले जानकारी दिए ।

चन्द्रागिरि २, वाँडभन्ज्याङमा पदबहालीपछि नागढुङ्गा सुरूङ मार्ग प्रभावित क्षेत्र साबिक वाँडभन्ज्याङ १, २ र ३ मा देखिएको खानेपानीको समस्या तत्काल हल गर्ने बारेमा निर्णय भएको वडाध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए ।

चन्द्रागिरि ३, थानकोटमा पदबहालीपछि निर्वाचन स्वच्छ, भयरहित एवं मर्यादित रूपमा सम्पन्न गर्न सहयोग गर्नै सबै राजनीतिक दल, कर्मचारीहरू लगायतलाई पूर्व जनप्रतिनिधिहरूलाई धन्यवाद् दिने निर्णय गरिएको वडाध्यक्ष दुर्गालाल महर्जनले जानकारी दिए ।

चन्द्रागिरि ४ थानकोटमा पदबहालीपछि रोजगारमुलक योजनाहरूलाई प्राथमिकतामा राख्ने निर्णय भएको वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिए ।

चन्द्रागिरि ५ महादेवस्थानमा पदबहालीपछि यसअघिका जनप्रतिनिधिहरूले गरेको बजेट व्यवस्थापनलाई यथावत राख्ने निर्णय भएको वडाध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिए ।

चन्द्रागिरि६, महादेवस्थानमा पदबहालीपछि निर्वाचन स्वच्छ, भयरहित एवं मर्यादित रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबै राजनीतिक दल, कर्मचारीहरू लगायतलाई पूर्व जनप्रतिनिधिहरूलाई धन्यवाद् दिने निर्णय गरिएको वडाध्यक्ष सन्जय सिग्देलले जानकारी दिए ।

चन्द्रागिरि ७ मा पदबहालीपछि पूर्व जनप्रतिनिधिहरूलाई धन्यवाद् दिँदै आगामी दिनमा हुने विकास निर्माण एवं निर्णयहरूमा सबैको सल्लाह एवं सुझावहरूलाई आत्मसाथ गर्दै जाने निर्णय भएको वडाध्यक्ष शम्भुकुमार केसीले जानकारी दिए ।

चन्द्रागिरि ८ मातातीर्थमा पदबहालीपछि चन्द्रागिरि नगरपालिकाले सुरू गरेको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन चाहने वडाबासीहरूले तिर्नुपर्ने शुल्कको २५ प्रतिशत रकम वडा कार्यालयले व्यहोर्ने निर्णय भएको वडाध्यक्ष प्रल्हाद रिजालले जानकारी दिए ।

चन्द्रागिरि ९ मच्छेगाउँमा पदबहालीपछि वडामा भइरहेका बंगुरपालन व्यवसायलाई व्यवस्थित गर्नका लागि सम्बन्धित पक्षलाई निर्देशन दिने तथा सो व्यवसायबाट परेको असर न्युनीकरण गर्न सहयोग गर्ने निर्णय भएको वडाध्यक्ष अच्युत अधिकारीले जानकारी दिए ।

चन्द्रागिरि १० सतुङ्गलमा पदबहालीपछि सार्वजनिक जग्गा संरक्षण गर्ने विषयमा निर्णय भएको वडाध्यक्ष शिवकुमार महर्जनले जानकारी दिए ।

चन्द्रागिर ११ सतुंगलमा पदबहालीपछि वडा कार्यालयबाट प्रवाह हुने सेवा लिने क्रममा सेवाग्राहीहरूप्रति कुनै किसिमको पूर्वाग्रह नराख्ने निर्णय भएको वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठले जानकारी दिए ।

चन्द्रागिरि १२ बलम्बुमा पदबहालीपछि वडाध्यक्षले पाउने सम्पूर्ण तलबभत्ता शैक्षिक कोष खडा गरी सो कोषमा राख्ने निर्णय भएको वडाध्यक्ष न्हुच्छे बहादुर महर्जनले जानकारी दिए । यस बारेमा थप निर्णय हुन बाँकी रहेको बताइएको छ ।

चन्द्रागिरि १३ पुरानो नैकापमा पदबहालीपछि साबिक पुरानो नैकाप ५, ६ र ८ क्षेत्रका सेवाग्राहीको सुविधाका लागि मितेरी चोकमा स्वास्थ्य चाैकीबाट प्रवाह हुने सेवाहरू प्रदान गर्न स्वास्थ्य चाैकीको यूनिट सञ्चालन निर्णय भएको वडाध्यक्ष श्रीकृष्ण खत्रीले जानकारी दिए ।

चन्द्रागिरि १४ नयाँ नैकापमा पदबहालीपछि वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रवाहका सन्दर्भमा वडाबासीहरूबाट सुझाव तथा राय बुझ्नका लागि व्यवस्थित सुझाव पेटीकाहरू तथा सूचना पाटीकाे व्यवस्था निर्णय भएको वडाध्यक्ष राजभाइ महर्जनले जानकारी दिए ।

चन्द्रागिरि १५ तीनथानामा नवनिर्वाचित जनप्रतिनिधिहरूले आगामी बुधबार पदबहाली गर्ने कार्यक्रम वडाध्यक्ष घनश्याम लुँइटेलले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *