चन्द्रागिरि-७ मा नेकपा एसका सबैभन्दा धेरै मतदाता, वडाध्यक्षका उम्मेदवार एमालेमै फर्किएपछि अब के होला ?

Thankot Times

थानकोट ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता साझेदार दलहरूले देशभर गठबन्धन गरे पनि काठमाण्डाै क्षेत्र नं. १० मा भने गठबन्धनका सबै दलहरूबीच गठबन्धन हुन सकेको छैन् । जसकारण यो क्षेत्रको चुनावी गतिविधि र परिणाम निकै रोचक हुने देखिएको छ ।

काठमाण्डाै क्षेत्र नं. १० को संघतर्फ नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दल तथा स्वतन्त्र गरि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशतर्फ यो क्षेत्रमा २१ जनाको उम्मेदवारी परेको छ ।

नेकपा एमाले र  नेकपा माओवादी केन्द्रले यस क्षेत्रको संघ र प्रदेश तर्फ दुवै क्षेत्रमा उम्मेदवारी दिएको छ भने नेपाली काँग्रेसले संघ र प्रदेश १ मा उम्मेदवारी दिँदा नेकपा समाजवादीले प्रदेश २ मा उम्मेदवारी दर्ता गराएको छ ।

यो क्षेत्रको प्रदेश १ मा एमालेको तर्फबाट शिवभक्ति बलामी, नेपाली कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलीप महर्जन लगायतको उम्मेदवारी परेको छ भने यो क्षेत्रको प्रदेश २ मा एमालेका तर्फबाट रामशरण आलेमगर, माओवादी केन्द्रको तर्फबाट गणेशबहादुर कुँवर, नेकपा एसबाट रमा आलेमगरको उम्मेदवारी परेको छ ।

अहिले यी क्षेत्रमा दलहरू संयुक्त तथा एकल रूपमा प्रचारप्रसारमा समय खर्चिरहेका छन् । मतदाताको घरदैलोमा दलहरूको आवतजावत बाक्लिँदै गएको छ ।

स्थानीय निर्वाचनको मत

०७४ को स्थानीय निर्वाचनमा यहाँ ७० हजार मतदाता थिए । अहिले करिब ७६ हजार पुगेका छन् । कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका र चन्द्रागिरि नगरपालिका १० वडा (१, १२, १३, १४ र १५ बाहेक) छन् । गत वैैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिकामा कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मतका साथ विजयी भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी एमालेका केशरत्न बज्राचार्यले पाँच हजार पाँच सय सात मत प्राप्त गरेका थिए । नगरपालिकाका १० वडामध्ये नौ वडामा कांग्रेसले जित निकाल्दा एउटा वडामा स्वतन्त्र उम्मदेवार श्यामकुमार अधिकारी विजयी भएका थिए ।

यसैगरी, दक्षिणकाली नगरपालिकामा एमालेका श्रीराम आचार्यलाई हराएर कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका थिए । बस्नेतले सात हजार दुई सय एक मत ल्याउँदा आचार्यले पाँच हजार एक सय ९२ मत ल्याएका थिए । नौ वडामध्ये तीन वडामा एमालेले जित्दा ६ वडामा कांग्रेसले जित निकालेको थियो ।

चन्द्रागिरि नगरपालिकामा पनि कांग्रेसले नै बाजी मारेको थियो । कांग्रेसका घनश्याम गिरीले १५ हजार चार सय ७५ मत ल्याएर १४ हजार ६ सय ५१ मत ल्याएका एमालेका उत्तमबहादुर राउतलाई हराएका थिए । यस क्षेत्रमा परेका १० वडामध्ये सात वडामा कांग्रेस, दुईवटा वडामा माओवादीले र एक वडामा एमालेले जित निकालेको थियो ।

चन्द्रागिरि नगरको वडागत मत परिणामको सारांश (सबै वडा)

प्रदेश २ मा प्रतिस्पर्धा थप रोचक

काठमाण्डाै क्षेत्र नं. १० को प्रदेश २ मा निर्वाचन थप रोचक हुने अनुमान गरिएको छ । जहाँ नेपाली काँग्रेसले नेकपा एसका उम्मेदवारलाई रमा आलेमगरलाई कलम चिन्हमा मत माग्न सघाइरहेको छ । नेकपा माओवादी केन्द्रबाट गणेश कुँवर र एमालेका राम शरण आलेमगर एकल मत मागिरहेका छन् ।

नाताले एकै परिवारका सदस्य रहेका आलेमगर द्वय मध्ये एक जनाले दोश्रो प्रदेश सभा सदस्य निर्वाचनमा बाजी मार्ने अड्कल काटिएका छन् । पहिलो प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रसँगको तालमेलमा नेकपा एमालेबाट चुनाव जितेकी रमा आलेमगरले यसपटक भने माधव कुमार नेपाल नेतृत्वको नेकपा समाजवादीबाट मत मागिरहेकी छिन् भने उनकै सहोदर काका रामशरण आलेमगरले सूर्य चिन्हबाट मत मागिरहेका छन् ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *