डा. सन्दुक रूइतलाई १० लाख डलरको प्रतिष्ठित इसा अवार्ड

Thankot Times

थानकोट ।

विख्यात नेत्र चिकित्सक सन्दुक रूइतले १० लाख डलरको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । रूइत सम्भवतः हालसम्म सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्ने पहिलो नेपाली हुन् ।

हरेक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील संसारभरका व्यक्ति वा संस्थाहरू मध्येबाट छानेर उत्कृष्टलाई प्रदान गरिने यो अवार्डको पाँचौं संस्करण चिकित्सक रूइतले पाएका हुन् ।

मंगलबार बहराइनको राजधानी मनमामा आयोजित पुरस्कार घोषणा समारोहमा राजाका प्रतिनिधिको रूपमा उपस्थित राजपरिवारका सदस्य शेख मो. बिन मुबारक अल खालिफाले डा. रुइतले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि उनलाई इसा अवार्डका लागि छनोट गरिएको जानकारी दिए ।

डा. रुइतले मोतियाबिन्दु भएका बिरामीको उपचार गर्ने सरल विधि विकास गरेका थिए । साथै इन्ट्राअकुलर लेन्सको विकास गरी सुलभ दरमा उपलब्ध गराएका थिए । त्यसबाट नेपाललगायत विकासोन्मुख देशका अन्धोपन भएका लाखौँ व्यक्तिले नेत्र ज्योति प्राप्त गरेका छन् । डा. रुइतले पहल नगरेको भए ती मानिसहरूले सम्भवत संसार देख्न पाउने थिएनन् ।

चार वर्षका लागि मंगलबार घोषणा गरिएको अवार्डका लागि सुरुमा १४५ जना व्यक्ति तथा संस्था नोमिनेसनमा परेका थिए । वैज्ञानिक, प्राध्यापक, पूर्व राजनीतिज्ञ लगायतका प्रतिष्ठित व्यक्तिहरूको छनोट समूहले उनीहरू मध्येबाट डा. रुइतलाई छनोट गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *