आयल निगमको थानकोट डिपोमा डिलर सञ्चालकहरूबीच अन्तर्क्रिया सम्पन्न

Thankot Times

थानकोट । 

नेपाल आयल निगमले इन्धनसँग सम्बन्धित सुरक्षा मापदण्डका विषयमा काठमाडौँ उपत्यकामा रहेका एक सयभन्दा बढी डिलरका प्रतिनिधिहरुसँग छलफलमा गरेको छ । 

निगमले बिहीबार थानकोट डिपोमा सय वटा डिलर सञ्चालकहरुलाई बोलाइ सुरक्षा तथा मापदण्डका विषयमा अन्तर्क्रिया कार्यक्रम गर्नुका साथै प्रशिक्षण दिएको हो। 

 पछिल्लो समय ग्यास विस्फोटका घटनाहरु बढेपछि निगमले पेट्रोलियम पदार्थको सुरक्षा र मापदण्डको कार्यन्वयन गर्न कडा निर्देशन समेत दिएको छ । निगमको आपुर्ति विभागका विरेन्द्र गोइतले डिलर सञ्चालकहरु तथा डिलरमा काम गर्ने कर्मचारीलाई प्रशिक्षण दिनुका साथै अन्तरक्रिया कार्यक्रम गरेको बताए।

 ‘काठमाडौँ उपत्यका भित्र भएका पेट्रोलपम्महरुलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर उहाँहरुलाई प्रशिक्षण गरेका हौँ’, उनले भने, ‘यी–यी काम गर्नुहुन्छ र यी–यी काम गर्नु हुदैन भनेर सचेत गराएका हौँ।’ पेट्रोलपम्ममा आएका ग्राहकसँग नम्र भएर बोल्नेदेखि पेट्रोलपम्म खालि गराउँदा कसरी गराउनेसम्मको प्रशिक्षण गरेको गोइतले बताए। 

कार्यक्रममा निगमका उपनिर्देशक विनितमणि उपाध्याय, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान र बागमती डिलर्स एसोसिएसनका अध्यक्ष अच्युत खड्काको सहभागिता रहेको थियो। 

निगमले आगामी दिनमा यस्तो कार्यक्रम सबै डिपोहरूमा गर्ने योजना बनाएको उनले बताए। उनका अनुसार ग्यासको सुरक्षा तथा मापदण्डको विषयमा पनि यस्तै अन्तरक्रिया तथा तालिमको व्यवस्था गरिने छ। यसमा ग्यास डिलरहरुलाई सहाभागी गराइने छ।

निगमले आफ्नो सामाजिक संजाल र अन्य क्षेत्रमा ग्यास सुरक्षा सम्बन्धी क्याम्पेनहरु समेत सञ्चालन गरिरहेको बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ