देशभर १ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, एक संक्रमितको मृत्यु
थानकोट ।
नेपालमा कोभिड-१९ को सङ्क्रमणबाट लगातार दोस्रो दिन पनि एक जना संक्रमितको मृत्यु भएको छ । यो सँगै देशमा कोभिडबाट मृत्यु हुने कूल सङ्ख्या १२ हजार २२ जना पुगेको छ ।
असोज ८ गतेपछि पहिलो पटक मंगलबार कोरानाभाइरस (कोभिड–१९) सङ्क्रमणका कारण ज्यान गएको थियो ।
मंगलबार ज्यान गुमाउने कोरोना सङ्क्रमित ७८ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए । सङ्क्रमणका कारण मृत्यु भएका पुरुषलाई सुगर, प्रेसर लगायतका स्वास्थ्य समस्या थियो ।
उनको काठमाडौँमा उपचार भइरहेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ३७७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ५८ जना एन्टीजेन विधिबाट ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ८१ जना सङ्क्रमणमुक्त भएका छन् ।
यो सँगै पीसीआर विधिबाट देशभर सङ्क्रमितको सङ्ख्या ४४५ पुगेको छ । यही अवधिमा थप ४२ हजार १८० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।














