कीर्तिपुरको प्यंगथाँबाट हटाइयो रातो मच्छिन्द्रनाथ र याक: मिसाको प्रतिमूर्ति

Thankot Times

थानकोट ।

कीर्तिपुरको प्यंगथाँबाट रातो मच्छिन्द्रनाथ र याकः मिसा को प्रतिमूर्ति आइतबार हटाइएको छ।

कीर्तिपुर नगरपालिकाको सक्रियतामा नगर प्रहरी र जनपद प्रहरीसमेत परिचालन गरेर आइतबार साँझ साढे ६ बजेतिर दुवै मूर्ति झिकिएको हो।

अहिले ती मूर्ति नगरपालिकामा लगेर राखिएको प्यंगथाँस्थित सुखी गछेँ समाजका सचिव नारायण महर्जनले बताएका छन्। समाजकै अगुवाइमा गत मंसिर १५ गते यी मूर्ति यहाँ प्रतिस्थापन गरिएका थिए।

रातो मच्छिन्द्रनाथको नित्यपूजा गर्ने पुजारीहरूको संगठन श्री ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघले ती मूर्ति हटाइएन भने यसपालिको जात्रामा आफूहरू फूल–प्रसाद लिएर प्यंगथाँ नजाने अडान लिँदै आएको छ।

प्यंगथाँकी जीवित देवी याक: मिसालाई फूल-प्रसाद चढाउन जाने चलन रथयात्रा जत्तिकै पुरानो भएको जनविश्वास छ। रातो मच्छिन्द्रनाथको जात्रा कम्तिमा १४ सय वर्षदेखि चल्दै आएको मानिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *