एमालेको प्रदेश अधिवेशनका लागि काठमाडाैंका सबै स्थानीय तहबाट सर्वसम्मत छानिए प्रतिनिधि
थानकोट ।
नेकपा एमाले बागमती प्रदेश संगठनले काठमाडाैं जिल्लाका स्थानीय तहबाट प्रथम प्रदेश अधिवेशनका लागि सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएको जनाएको छ।
काठमाडौंका ११ वटै पालिकामा सर्वसम्मत प्रतिनिधि चयन भएको पोलिट्ब्युरो सदस्य रामेश्वर फुयालले जानकारी दिए। काठमाडौं महानगरपालिकामा ३४ सहित काठमाडौंमा १ सय ३७ जनाभन्दा बढी प्रतिनिधि सर्वसम्मत छानिएको उनले बताए।
नेकपा एमाले बागमती प्रदेश अधिवेशनः चन्द्रागिरि नगरमा सर्वसम्मत छानिए अधिवेशन प्रतिनिधि
बागमतीमा एमालेका १ लाख ९ हजार २ सय ३८ जना संगठित सदस्य रहेको प्रदेश कार्यालय सचिव शुभराज पोखरेलले जानकारी दिए। जसमध्येबाट १ हजार १ सय ५० हाराहारी प्रतिनिधि चुनिएर आउँछन्।
बागमती प्रदेशले एक सय संगठित सदस्यमध्येबाट १ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरेको थियो। कुल संगिठत सदस्य मध्येबाट सय भाग लगाउँदा शेष ५० रहेमा त्यसबाट थप एक जना निर्वाचित गराउने व्यवस्था छ।
त्यस्तै ३३ प्रतिशत महिला, दुई जना प्रतिनिधि चुनिने अवस्था आएमा एकजना महिला अनिवार्य निर्वाचित गर्नुपर्ने व्यवस्था छ। एक निर्वाचन क्षेत्रमा एक जना प्रतिनिधि दलित समुदायबाट निर्वाचित हुने व्यवस्था रहेको पनि कार्यालय सचिव पोखरेलले जानकारी दिए।
एमाले बागमती प्रदेशको अधिवेशन असोज ८ गते भृकुटीमण्डमा उद्घाटन हुने छ। बन्द सत्र प्रज्ञा प्रतिष्ठानको हलमा हुने छ।
एमाले बागमती प्रदेशमा ४ सय ७९ सदस्यीय प्रदेश संगठन कमिटी रहेको छ। १३ वटा जिल्लाका जिल्ला अध्यक्षहरू पदेन सदस्य रहेका छन्।
अधिवेशनले ५३ प्रतिशतभन्दा बढी आकार घटाउने छ। अबको अधिवेशनले २ सय ५५ सदस्यीय कमिटी निर्वाचित गर्ने कार्यालय सचिव पोखरेलले जानकारी दिए।












