एउटै प्रतियोगितामा तीन स्वर्ण जित्न सफल ब्राइट फ्युचरका सुजल राखेपका अधिकारीबाट सम्मानित
थानकोट ।
काठमाडाैंमा सम्पन्न दक्षिण एसियाली देशका खेलाडी सम्मिलित इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्युचर माविका विद्यार्थी सुजल कार्कीले तीन स्वर्ण पदक जितेका छन् ।
कार्कीले भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र नेपालका खेलाडी सम्मिलित ३ दिने प्रतियोगिताको ४८ केजी ताैल समुह अन्तर्गत तीन विधाका प्रतिस्पर्धामा स्वर्ण चुमेका हुन् ।
यसैबीच राष्ट्रिय खेलकुद परिषद्का कार्यवाहक सदस्य सचिव प्रकाश कुसारीले एकै प्रतियोगिताको पेर पुम्से र टिम पुम्से विधामा तीन वटा स्वर्ण पदक जित्न सफल ब्राइट फ्युचरका विद्यार्थी खेलाडी सुजल कार्कीलाई सम्मान गरेका छन् ।
विद्यालय प्राङ्गणमा बुधबार आयोजित एक समारोहका बीच राखेपका निमित्त कार्यवाहक सदस्य सचिव कुसारीले कक्षा १२ मा अध्ययनरत कार्कीलाई सम्मान गरेका हुन् । त्यसक्रममा सोही प्रतियोगिताको ३० केजी ताैल समुहमा स्वर्ण पदक विजेता ब्राइट फ्युचरकै कक्षा ५ की छात्रा अर्पणा काफ्ले तथा विद्यालयका अन्य अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो ।
विद्यार्थी खेलाडीहरू सम्मानपछि राष्ट्रिय खेलकुद परिषद्का कार्यवाहक सदस्य सचिव प्रकाश कुसारीले विद्यालय स्तरबाटै खेलकुदको विकास गर्नुपर्नेमा जोड दिँदै नेपाल सरकारले आगामी आर्थिक वर्षबाट विद्यालय खेलकुद गतिविधिलाई प्राथमिकतामा राख्ने तयारी भइरहेको बताए ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङ १९औं एसियाडका लागि चीन उडेपछि कुसारीले निमित्तको जिम्मेवारी पाएका हुन् ।










