जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई प्रस्थान गर्दै

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्दैछन्। उनी बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेका हुन्। सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म यूएईको दुबईमा हुँदैछ।

प्रधानमन्त्री डिसेम्बर १–२ मा हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन् । डिसेम्बर २ मा उनले सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ ।

प्रचण्ड संयुक्त अरब इमिरेट्सको ५२औँ ‘युनियन डे’को अवसरमा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुनेछन्। उनी यूएईले आयोजना गर्ने ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने मन्त्रालयले बताएको छ।

सम्मेलनको ‘साइड लाइन’मा प्रधानमन्त्रीले विभिन्न देशका राष्ट्रप्रमुख, सरकारप्रमुख र उच्च पदस्थ व्यक्तिसँग वार्ता गर्नेछन्।

प्रधानमन्त्रीले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय भएको छ। यस्तै नेपाल–यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ।

प्रचण्डसँग छोरी गंगा दाहाल, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो र अन्य सरकारी अधिकारी पनि यूएई जानेछन्।

प्रधानमन्त्री मंसिर १७ गते स्वदेश फर्किने तय भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *