गजुरीमा यात्रु बस दुर्घटना: मृतक ७ मध्ये ३ जनाको सनाखत, चन्द्रागिरि बस्ने एक पुरुषको पनि निधन
थानकोट ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीमा आज बुधबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउने सात जनामध्ये हालसम्म तीनजनाको सनाखत भएको छ।
टिकटका आधारमा कपिलवस्तुका रामकिशोर जैसवाल र काठमाडौं चन्द्रागिरि नगरपालिका-१० सतुगंलका ५५ वर्षीय बेखा पुटुवर, सनाखत भएको प्रहरीले जनाएको छ ।
धादिङको गजुरीमा यात्रु बस दुर्घटना: सतुगंलका एक पुरुषसहित ३९ जना यात्रु घाइते, उद्धार कार्य जारी
यस्तै गरी बुटवलकी रुवी श्रेष्ठको पनि सनाखत भएको छ ।
आज बिहान करिब ४ः४० बजे लु १ ख २१-२१ नम्बरको बस त्रिशूली नदीमा खसेको थियो ।
बसमा आएका ४६ जना यात्रुमध्ये ६ पुरुष र १ जना महिलाको दुर्घटनामा परी मृत्यु भएको हो ।
यस्तै ३९ जना घइते भएका छन् ।
घाइतेमध्ये सिकिस्त रहेका १० जनालाई काठमाडौं ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नदीमा खसेको बसबाट स्थानीयबासी र सुरक्षाकर्मीले घाइतेको उद्धार गरेका हुन् ।
दुर्घटना हुनुअघि चालकले मोबाइल कुराकानी गर्दै आफूलाई निद्रा लागिरहेको भनेका एक यात्रुले बताएका छन् ।
प्रहरीले पनि चालक निदाएका कारण बस दुर्घटना भएको हुनसक्ने जनाएको छ । बस दुर्घटनामा दुई जना यात्रु बेपत्ता भएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।










