चन्द्रागिरि नगरमा कपडा बैंक सञ्चालनमा, महानायकले गरे अभियानको थालनी (फोटो फिचर)

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका कपडा बैंक अभियान सञ्चालन गर्ने काठमाडाैंको दोश्रो स्थानीय तह बनेको छ ।

मेयर घनश्याम गिरी र महानायक राजेश हमालले कपडा बैंक अभियानको आज एकसाथ उद्घाटन गर्नुभए सँगै चन्द्रागिरि नगरमा शुक्रबारबाट क्लोथ बैक सञ्चालनमा आएको हो ।

क्लोथ एन्ड फुड बैंक नेपालले प्रयोगमा नआएका र घरमा यत्तिकै रहिरहेका पुरानो लत्ता कपडा सञ्चालन गरी पुनः प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने उद्देश्य छ राखि सो अभियान सुरु गरेको हो ।

यसअघि काठमाडाैंको टोखा नगरमा यो अभियान सुरु भइसकेको छ ।

चन्द्रागिरि नगरमा कपडा बैंक अभियानको थालनी गर्दै महानायक राजेश हमालले दैवी प्रकोप, चाड पर्व लगायतका अवसरमा यस खालको अभियान विकसित मुलुकमा दशकाैं देखी सुरु भइसकेको बताउनुहुँदै नेपालमा पनि यस खालको अभियानको खाँचो रहेको धारणा राख्नुभयो । सो क्रममा नायक हमालले लत्ताकपडाको साथै भविष्यमा खाद्यान्न बैंकको समेत सुरुवात हुने बताउनुभयो ।

आफ्नो परिवारका सदस्य तथा छरछिमेकमा समेत यस अभियानमा जोडिन प्रचारप्रसार गर्नुपर्ने धारणा राख्नुहुँदै उहाँले दुरदराजसम्म यस अभियानले कार्य गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले बैंकमा पैसामा जम्मा गरेजस्तै कपडा बैंकमा पनि कपडा जम्मा गर्न नगरबासीलाई व्यापक जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्नुहुँदै नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले कपडा दानजस्तो पुण्य कर्ममा जुट्नु सबैमा अनुरोध गर्नुभयो ।

यसैगरी नगरप्रमुख घनश्याम गिरीले नगरको कार्यपालिकाको निर्णय अनुसार नै नगरमा कपडा बैंक अभियान थालनी गरिएको बताउनुहुँदै चन्द्रागिरि नगरका अतिरिक्त अन्य स्थानीय तहले समेत यस अभियानमा साथ दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाली समाजमा पारिवारिक रूपमा कपडा बैंक विकसित भएको बताउनुहुँदै नगरप्रमुख गिरीले पछिल्लो पुस्ताले यस खालको परम्परालाई बिर्सदैं गएको हुँदा कपडा बैंकको अवधारणाले सबैमा सहयोगको भावना जागृत हुन अपेक्षा लिएको बताउनुभयो । नगर क्षेत्रका विभिन्न स्थानमा कपडा जथाभावी फालिँदा प्रदुषण भएको बताउनुहुँदै नगरप्रमुख गिरीले नगरको सफाइमा समेत कपडा बैंक कामयावी हुन सक्ने बताउनुभयो ।

आफ्नो घर, टोल र समाजलाई सफा राखौं भन्ने नाराका साथ यो अभियान जारी रहेको क्लोथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जीसीले बताउनुभयो । नेपालभरका सम्पूर्ण स्थानीय सरकार तथा विभिन्न निकायलाई सहकार्यका लागि उहाँले आह्वान समेत गर्नुभयो ।

मुलुकका १६० वटा स्थानीय तहमा कपडा बैंक स्थापनार्थ पहल भइरहेको जानकारी दिनुहुँदै अध्यक्ष जीसीले स्वास्थ्य मापदण्ड अनुसार कपडा बैंकमा जम्मा भएका कपडाको सफाइ, मर्मत गरी लक्षित समुह, समुदायसम्म पुर्याउने गरेको जानकारी दिनुभयो । मुलुकका करिब ३ हजार परिवार यस अभियानबाट लाभान्वित भइरहेको बताउनुहुँदै उहाँले करिब १८ महिनाको अवधिमा संस्थाले राखेको उद्देश्यमा सबैतिरबाट हातेमालो भइरहेको बताउनुभयो ।

कपडा दिने र लिने दुवैको अभिलेख राखिने जानकारी दिनुहुँदै उहाँले हालसम्म करिब ९० क्विन्टल नयाँ तथा पुराना कपडा संकलन भइसकेको जानकारी समेत दिनुभएको थियो । घाम पानी र आगोबाट सुरक्षित कपडा बैंक बाकसको आयु करिब २० वर्ष रहेको समेत उहाँको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *