त्रिकोणात्मक टी-२० सिरिज: नेपालको दोश्रो जित, उपाधि सम्भावना जिवितै
थानकोट ।
नेपाल, क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक टी-२० सिरिजमा आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।
बुधबार राति क्यानडाको किङ सिटीमा भएको खेलमा नेपाल ५६ रनले विजयी भएको हो
नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव पाँच ओभरमा १०१ रन जोड्दै अलआउट भयो ।
जितसँगै नेपाल ४ खेलबाट २ मा जित र २ मा हारसहित ४ अंकको साथ अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १५७ रन जोड्यो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले ४४ बलमा दुई चौका र चार छक्कासहित ५६ रनको योगदान दिए । ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी एक, गुल्सान झा दुई र कुशल भुर्तेल ११ रनमा आउट भएका थिए ।
ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए ।
नेपालका कुशल भुर्तेलले तीन, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए ।
आज हुने सिरिजको अन्तिम खेलमा क्यानडा र ओमानबीचको नतिजाले सिरिजको विजेता टुंगो लाग्नेछ ।
अंकतालिकामा समान ३-३ खेलेका क्यानडा र ओमान क्रमश ४ र २ अंकका साथमा दोश्रो र तेस्रो स्थानमा छन् ।
ओमानले अन्तिम खेल जितेमा नेपाल सिरिजको विजेता बन्नेछ भने क्यानडाले जितेमा वा खेल बराबर भएमा उ सिरिजको विजेता बन्नेछ ।














